Logo

ओलीले झुक्याएको प्रचण्डको ब्रिफिङ : डाके पार्टीको हाई-कमाण्ड बैठक, तत्काल राजीनामा नदिने मुड



काठमाडौं, १८ असार । प्रधानमन्त्री पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई झुक्याएको निश्कर्ष निकालेका छन् । आफूनिकट नेताहरुसँग ओलीले सोमबार राति अबेरसम्म पनि कांग्रेससँगको सहकार्यको समाचार हल्लामात्रै भएको भनेको तर कांग्रेससँग सत्ता सहकार्यको लागि सहमतिपत्रमा हस्तार गरेकोमा आश्चर्य प्रकट गरेका छन् ।

उनले ओलीले आफूहरुलाई झुक्याएको निश्कर्ष निकालेका हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ परेपछि राजनीतिमा तरंग आएको भनेर माओवादी नेताहरुले धारणा सार्वजनिक गरेका छन् । अब कसरी अघि बढ्ने भन्ने विषयमा निर्णय लिनको लागि प्रधानमन्त्री दाहालले आजै विहान बालुवाटारमा हाई कमाण्ड बैठक बोलाएका छन् ।

कांग्रेस र एमालेले नयाँ सरकार बनाउनको लागि सहमति गरेपनि आफूले विश्वासको मत लिनको लागि ३० दिनको समय पाउने भएकोले तत्काल राजीनामा नदिने मुडमा प्रधानमन्त्री दाहाल पुगेका छन् । प्रधानमन्त्री दाहाल र गृहमन्त्री रवि लामिछानेबीच सोमबार राति अबेरसम्म कसरी अघि बढ्ने भन्ने विषयमा गम्भीर छलफल भएको बुझिएको छ ।

प्रधानमन्त्री दाहालले राजीनामा नदिए सरकार गठनमा विलम्ब हुने आशंकासहित कांग्रेस र एमालेका नेताहरुले राष्ट्रपति रामचन्द्र पौडेलसँगपनि सोमबार मध्यराति भेटेरै परामर्श गरेका थिए । सो भेटमा एमाले नेताहरुले सरकार गठन गर्दा संविधानको धारा ७६ को २ अनुसार नै आह्वान हुनुपर्ने कुराको विश्वसनीयता खोजेका थिए । राष्ट्रपति पौडेलसँगको भेटपछि एमाले नेतृत्वले कांग्रेससँग सत्ता सहकार्यको सहमतिपत्रमा हस्ताक्षर गरेको दाबी गरिएको छ । यद्धपी सहमतिपत्र भने आज विहान अबेरमात्रै सार्वजनिक गरिने जनाइएको छ । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot