Logo

एमालेसँग मन्त्रालय र प्रदेशमा सहमतिपछि कांग्रेस पदाधिकारी बस्दै,



काठमाडौं, असार १८ । नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सत्ता सहकार्यको सहमति भएसँगै नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ। सोमबार मध्यरातमा एमालेसँग नयाँ सरकार गठन गर्ने सहमति भएसँगै काँग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका हुन् ।

बैठक अहिले बिहान ९ बजे देउवा निवास बूढानीलकण्ठमा बस्नेछ । दुई दलबीच भएको सहमतिअनुसार पहिलो चरणमा सरकारको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् । ओलीले डेढ वर्ष र कांग्रेस सभापति शेरबहादुर देउवाले बाँकी समय सरकारको नेतृत्व गर्ने समझदारी बनेको हो । दुई दलबीच कांग्रेसले १० र एमालेले ९ वटा मन्त्रालय लिने पनि सहमति भएको छ । कांग्रेसले गृह मन्त्रालय लिने सहमति भएको छ भने एमालेले अर्थ मन्त्रालय राख्नेछ ।

त्यस्तै, प्रदेशमा कुन पार्टीले कति प्रदेश सरकारको नेतृत्व लिने भन्ने विषयमा पनि सहमती भएको छ । एमालेले कोशी, लुम्बिनी र कर्णाली प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कांग्रेसले बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्नेछ । मधेस प्रदेश सरकारको नेतृत्व भने मधेसवादी दललाई नै दिने सहमति बनेको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot