Logo

गृहमन्त्री रवि लामिछानेको वचनपछि प्रधानमन्त्री दाहाल सदन फेश गर्ने मुडमा, राजीनामाबारे नसोच्ने



काठमाडौं, १८ असार । सत्ता गठबन्धनको मुख्य घटक नेकपा (एमाले) ले कांग्रेससँग मिलेर नयाँ सरकार बनाउने सहमति गरेपछि राजनीति तरंगित बनेको छ । विकसित राजनीतिक परिस्थितिबारे एमाले अध्यक्ष ओलील्ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेरै जानकारी गराएका छन् । बालुवाटारमा भएको भेटमा ओलीले आफ्नो नेतृत्वमा कांग्रेससहितको राष्ट्रिय सहमतिको सरकार बन्ने सहमति भएकोले मार्गप्रशस्त गर्न आग्रह गरेका थिए ।

जवाफमा प्रधानमन्त्री दाहालले संविधानतः आफूले विश्वासको मत लिने भन्दै राजीनामा नदिने भनेर कडा जवाफ दिएको बालुवाटारको दाबी छ । कांग्रेस र एमालेका शीर्ष नेताहरुले प्रधानमन्त्री दाहालले राजीनामा नदिए कसरी अघि बढ्ने भन्ने विषयमा पनि हिजो राति नै लामो छलफल भएको बुझिएको छ ।

ओली कांग्रेस सभापति शेरबहादुर देउवासहित राष्ट्रपति रामचन्द्र पौडेल भेट्न जाँदा सोमबार राति अबेर नै सरकार गठनको प्रक्रियाबारे आश्वस्त भैसकेका छन् । कांग्रेस शीर्ष नेताहरुले नै राष्ट्रपतिलाई साक्षी राखेर संविधानको धारा ७६ को २ अनुसार नयाँ सरकार गठनको लागि आह्वान गरिने विश्वास दिलाएपछि एमाले अध्यक्ष ओलीले कांग्रेससँग सहकार्यको लागि हस्ताक्षर गरेका हुन् ।

प्रधानमन्त्री दाहालले भने तत्काल राजीनामा नदिने विषयमा गृहमन्त्री रवि लामिछानेसँग सल्लाह गरेपछिमात्रै निर्णय लिएको बुझिएको छ । लामिछानेले यो एक महिनाभित्र विश्वासको मत लिने समय हुँदा राजनीतिमा धेरै कुरा तलमाथि गर्नसकिने विश्वास दिलाएको स्रोतको दाबी छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झा र पूर्व गृहमन्त्री रामबहादुर थापाको छोरा प्रतिक पक्राउ परेपछि राजनीति तरंगित बनेको माओवादी नेताहरुको बुझाई छ । झा पक्राउसँगै तत्काल कडा एक्शन लिनेगरि गृहमन्त्री लामिछाने अघि बढेको र उनलाई प्रहरीको माथिल्लो केही अधिकारीले साथ दिएको चर्चापनि छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot