Logo

अभिभावकले आनीबानी सुधार गरेपछि …



टीकापुर (कैलाली), १९ असार । कैलालीको टीकापुर नगरपालिका वडा नं ६ बेलुवाबोझीकी पार्वतीदेवी चौधरीले छ महिनाअघिसम्म आफ्ना बालबालिकाले काम बिगार्दा गाली गर्थे । राम्ररी पढेनन् भनेर रिसाउने, गाली गरेर काममा लगाउने उनको बानी पछिल्लो समय फेरिएको छ । समुदायमा सञ्चालन भएको सकारात्मक अभिभावकत्व कक्षामा ८ हप्तासम्म सहभागी भएपछि उनको व्यवहार बदलिएको छ ।

उनले आजभोलि आफ्ना बालबालिकालाई माया गरेर सही बाटो देखाउन थालेका छन् । “विगतमा बालबालिका कसरी हुर्काउने भन्ने राम्रो सिकाइ थिएन, रुपान्तरण कक्षामा सहभागी भएपछि बच्चा कसरी सुधार्ने, बालबालिकाको हेरचाह कसरी गर्ने, पढाइ सुधारबारे कसरी ध्यान दिने, माया गरेर कसरी गलत बानी सुधार्ने भनी सिकाइ भएको छ”, उनले भने, “अभिभावक कस्तो हुनुपर्छ भन्ने सिकेँ, सबैभन्दा पहिले हामी अभिभावकले आनीबानी सुधार्नु पर्ने रहेछ । अनि बालबालिका राम्रा बनाउन सकिने रहेछ ।”

सकारात्मक अभिभावकत्व कक्षामा सहभागी रीतादेवी चौधरी पनि लागुऔषधको असर, समाजमा चलनका रुपमा रहेका गलत अभ्यासबारे सिकाइ भएको बताउँछन् । “हाम्रो समाजमा रहेका गलत अभ्यासले हामीले नजानिँदो गरी बच्चालाई बिगारिरहेका रहेछौँ”, उनले भने, “बालबालिकालाई कुलतबाट जोगाउन आमाबुबाले माया गरेर निगरानी गर्नुपर्ने रहेछ भन्ने सिक्न पाए ।”

सिहाली चौधरीले पनि बच्चाको बानी व्यवहार उमेर अनुसार फरक हुन्छ, त्यो बेला अभिभावकले गर्नुपर्ने व्यवहार बारे सिकेको बताए । “हामीले किशोरावस्थाका बच्चालाई गाली गर्न हुँदैन भन्ने सिक्यौँ”, उनले भने, “चञ्चले बच्चालाई गाली गर्दा झन गलत हुनसक्छ । माया गरेर, उदाहरण दिएर, व्यस्त राखेर उनीहरुलाई सही मार्ग सिकाउनुपर्छ ।”

टीकापुरमा बालबालिका सुधारका लागि रुपान्तरण तथा जीवन उपयोगी सीप तथा आत्मरक्षा सीपसम्बन्धी तालिम सञ्चालन हुँदैै आएका छन् । टीकापुरका वडा नं ६, ७, ८ र ९ का वडामा बालबालिकाका लागि छ महिना रुपान्तरण कक्षा र अभिभावकका लागि सकारात्मक अभिभावकत्व कक्षा सञ्चालन गर्ने गरिएको छ ।

रुपान्तरण कक्षामा सहभागी बालबालिका आफ्ना अधिकारबारे सचेत हुने गरेका छन् । उनीहरुले वडा कार्यालयमा बालबालिकाका लागि बजेट तथा कार्यक्रम माग गर्ने, बालविवाह न्यूनीकरणमा काम गर्ने, समाजमा हिंसा न्यूनीकरणमा सचेतना फैलाउने काम गर्न थालेका छन् ।

रुपान्तरण कक्षामा किशोरावस्थाका बालबालिकालाई किशोरावस्थामा आउने परिवर्तन, त्यसको व्यवस्थापन, पोषणयुक्त खानेकुरा, सरसफाइ, प्राथमिक उपचारलगायतका विषयमा समेत सिकाइन्छ । त्यसैगरी विपद्का जोखिम, विपद् व्यवस्थापन, जलवायु परिवर्तन, बचत तथा खर्च प्रभावकारी रूपमा कसरी गर्ने, जीविकोपार्जनका विकल्पअन्तर्गत नोकरी, व्यावसायिक तालिम, उद्यम, ग्रामीण दिगो जीविकोपार्जन, योजना र बजेटका विषयमा समेत छलफल गरिन्छ ।

रुपान्तरण कक्षामा यौन तथा प्रजनन स्वास्थ्यअन्तर्गत यौन तथा प्रजनन अधिकारहरू, महिनावारी, यौन तथा यौनिकता, यौनजन्य सङ्क्रमण र एचआइभी, परिवार नियोजन, गर्भपतन तथा कम उमेरमा हुने गर्भावस्था र सुरक्षित मातृत्वसम्बन्धी विषयमा किशोरकिशोरीलाई सचेत गराइन्छ । किशोरअवस्थामा हुनसक्ने लैङ्गिक हिंसाअन्तर्गत विभिन्न प्रकारका हिंसा र त्यसलाई न्यूनीकरण गर्ने उपायहरू, बाल विवाह, घरेलु हिंसा, यौनजन्य हिंसा तथा मानव बेचबिखनसम्बन्धी विषयलाई समेटिएको छ । त्यसैगरी जीविकोपार्जनका विभिन्न उपायमध्ये लघुउद्यम विकास तालिमलाई समेटिएकोे छ ।

समुदायमा गरिएका कार्यक्रमले बालबालिका र अभिभावकबीचको दूरी घटाएको, बालबालिका सकारात्मक बाटोमा अघि बढाउन सहयोग पुगेको कार्यपालिका सदस्य राजारानी चौधरीले बताए । “सरकारले किशोरकिशोरीको समग्र विकासका लागि उनीहरूको अधिकार र विकाससँग सम्बन्धित सवाललाई आफ्ना नीति, योजना तथा कार्यक्रमहरूमा एकीकृतरुपमा समायोजन गर्दै विकास प्रक्रियाको मूलप्रवाहमा समाहित गर्न पहल गरिरहेको छ”, राजारानीले भने, “जीवन उपयोगी सीपले किशोर–किशोरीलाई उनीहरूको समग्र विकासमा सहयोग गर्छ ।”

बालबालिकाको असल जीवनका लागि उनीहरुलाई सही बाटो देखाउनुपर्ने इलाका प्रशासन कार्यालयका अधिकृत सर्वनन्द चपाई बताउँछन् । “सही बाटोमा अघि बढाउन राम्रो संस्कार, असल व्यवहार घरबाटै सुरु हुनुपर्छ”, उनले भने, “उनीहरुलाई पनि सही र गलत छुट्याउने ज्ञान दिनुपर्छ । यसका लागि पालिकाले बालबालिकाका क्षेत्रमा धेरै काम गर्न आवश्यक छ ।” रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot