Logo

भू–क्षय रोकथामका लागि ६७ हजार बिरुवा वितरण



पर्वत, १९ असार । पहिरो तथा भू–क्षय रोकथामका लागि भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतले यस वर्ष ६७ हजार बिरुवा वितरण गरेको छ । पहिरोको जोखिम रहेका पर्वत, बागलुङ, म्याग्दी र स्याङ्जामा विभिन्न प्रजातिका ६७ हजार बिरुवा वितरण गरिएको हो ।

कार्यालयको चालु आर्थिक वर्षको वार्षिक कार्यक्रमअन्तर्गत ६० हजार बिरुवा वितरण गर्ने लक्ष्य राखिएकामा यसवर्ष लक्ष्य भन्दा सात हजार बढी बिरुवा वितरण गरिएको कार्यालय प्रमुख दिवाकर पौडेलले जानकारी दिए । उनका अनुसार राईखन्यू, निमारो र किम्बूका बिरुवा निःशुल्क वितरण गरिएको हो ।

विभिन्न समूह, पशुपालक किसान, सहकारी तथा अन्य सङ्घसंस्थाले मागका आधारमा बिरुवा रोपिने प्रमुख पौडेलले बताए । “पहिरोको जोखिम भएका क्षेत्रमा बिरुवा रोप्दा बिरुवाका जराले वरिपरिको माटोलाई कसिलो बनाएर राख्ने गर्दछ”, उनले भने, “रुख र वन दुवैले वातावरण जोगाउन महत्वपूर्ण भूमिका खेल्छन् । रुखले हावा, पानीलाई स्वच्छ बनाउनुका साथै बाढीपहिरोबाट जोगाउँछ ।”

कमजोर र भिरालो जमिनमा थोरै दवाव पर्दा पनि पहिरो जानसक्ने हुनाले यो क्षेत्र पहिरोको दृष्टिकोणले अत्यधिक जोखिमयुक्त मानिने बताउँदै वातावरण संरक्षण गर्न र बाढीपहिरोको जोखिम न्यूनीकरण गर्न खाली तथा भिरालो जमिनमा बिरुवा रोप्नु उपयुक्त विकल्प रहेको प्रमुख पौडेलले जानकारी दिए ।

बिरुवा रोपेर मात्र नहुने भन्दै यसको संरक्षण गर्दै यसबाट फाइदा लिनुपर्ने जिल्ला समन्वय समितिका प्रमुख विष्णुराम विकले बताए । बिरुवा वितरण गर्दा अभिलेख राखेर गर्नुपर्नेमा जोड दिँदै उनले बिरुवाको संरक्षण भए÷नभएको बुझ्न समयसमयमा अनुगमन गर्नुपर्ने बताए । बिरुवा उत्पादनमा राज्यको ठूलो रकम लगानी भएकाले बिरुवा लगेर कसैले पनि दुरुपयोग नगर्न उनले अनुरोध गरे ।

बाँझो जमिनमा डालेघासँका रुपमा लगाइने राईखन्यु, निमारो पशुपालक किसानले बढी लगाउने गरेकाले अन्यको तुलनामा ती बिरुवा बढी माग भएको कार्यालय प्रमुख पौडेलले जानकारी दिए ।

कार्यालयका अनुसार म्याग्दीमा १५ हजार, बागलुङमा १५ हजार, स्याङ्जामा १५ हजार र पर्वतमा २२ हजार बिरुवा वितरण गरिएको छ । गत वर्ष यही मौसममा ७० हजार डालेघासँका बिरुवा वितरण गरिएको कार्यालयले जनाएको छ । डालेघाँसका बिरुवा वितरण गर्दा पशुका लागि आहार हुने, भू–क्षय न्यूनीकरण हुनुका साथै पहिरो नियन्त्रणमा सहयोग पुग्ने भएकाले हरेक वर्ष वितरण गर्दै आइएको भू तथा जलाधार व्यवस्थापन कार्यालयका प्रमुख पौडेलले जानकारी दिए ।

जिल्लास्थित डिभिजन वन कार्यालयले पनि विभिन्न प्रजातिका ३० हजार बढी बिरुवा वितरण गरेको छ । वन क्षेत्रको विकाससँगै उपभोक्ताको आयआर्जनमा वृद्धि गर्न साल, सल्लो, लोठ सल्ला, सुन्तलाजन्य फलफूल, अम्बालगायत बिरुवा वितरण गरिएको कार्यालयले जनाएको छ ।

जिल्लाका सातवटै स्थानीय तहले किसानको आयआर्जनमा वृद्धि गर्नका लागि ५० देखि ७० प्रतिशत अनुदानमा फलफूलका बिरुवा वितरण गरेका छन् । सूचना जारी गरेर किसानको मागका आधारमा सुन्तला, कागती, निबुवा, अम्बा, ओखर, नास्पाती, आँप, लिची एभोगाडो, केरालगायत उन्नत जातका फलफूलका बिरुवा वितरण गरिएको विहादी गाउँपालिकाका अध्यक्ष परविन गुरुङले जानकारी दिए । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot