Logo

कांग्रेस र एमाले मिल्दा मुलुकलाई फाईदा भएको इतिहास छ : विकास ठाकुर (भिडिओसहित)



काठमाडौं, १९ असार । नेपाली कांग्रेसका युवा नेता विकास ठाकुरले कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउनेगरि भएको सहकार्यलाई लिएर अरुले रोदन गर्नुको अर्थ नहुने बताएका छ्न । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित कार्यक्रममा बोल्दै नेता ठाकुरले कांग्रेस र एमाले मिलेर सरकार बनाएको विगतका समयमापनि देश र जनतालाई फाईदा नै भएको दाबी गरे ।

यसअघि दुई दल मिल्दा २०७२ मा मुलुकले नयाँ संविधान पाएको उनको दाबी छ । अहिले पनि देश र जनताको हितको लागि पनि दुई दल मिलेर सरकार बनाउन लागिएको उनको भनाई छ । गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारको फाईल खोलेपछि सरकार ढालिएको भनेर दिएको प्रतिक्रियाप्रति उनको गम्भीर असहमति छ ।

उनले भने,‘गृहमन्त्रीजीको बारेमा अहिले बोल्दासम्म उहाँ तीन महिना १६ दिन गृहमन्त्रीको कुर्सीमा बसिहरनुभएको छ । यत्तिका दिनमा कति वटा फाईल खोलियो ? कति जना पक्राउ गरियो ? किरण बज्राचार्यलाई सहकारीको फाइल बन्द गराउनको लागि उहाँले सरुवा गर्नुभयो । कैलाश सिरोहियालाई पनि पक्राउ गर्नुभयो । योबाहेक उहाँले अरु काम के गर्नुभयो ?’ गृहमन्त्री लामिछानेले ठूला प्रकरणमा फाइल नै खोल्न नसकेको उनको दाबी छ ।

उनले कतिपय मिडियामा आरजु राणामाथि पक्राउ गर्न प्रहरी धरपकड गरिएको भनेर आएको समाचार उल्लेख गर्दै भने,‘त्यसमा गृहमन्त्रीले पनि कहीँ कतै बोलेका छन् । आरजु राणा देउवा शेरबहादुर देउवाको श्रीमतीमात्रै होईनन् । उहाँ यो देशको एउटा सांसद हुनुहुन्छ । सांसदलाई बयान लिनको लागि पनि सभामुखसँग अर्डर लिनुपर्छ । कहाँ छ अर्डरको त्यो पेपर ?’ उनले अहिले कांग्रेस र एमालेको गठबन्धन रातारात नबनेको पनि सुनाए । यो गठबन्धन त गत बैशाखको अन्तिमतिर वा जेठको पहिलो साता नै बन्ने सहमति भएको उनले खुलासा गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot