Logo

सहिदको स्मृतिमा उद्यान निर्माण



ढोरपाटन (बागलुङ), १९ असार । जिल्लाको काठेखोला गाउँपालिका–१ स्थित धिमी खानसिङमा सहिद स्मृति उद्यान निर्माण गरिएको छ । सहिद स्मृति पार्क संरक्षण केन्द्रले व्यवस्थापन गरेको दुई रोपनी १० आना जग्गामा उद्यान निर्माण गरिएको हो ।

सशस्त्र द्वन्द्वका बेला ज्यान गुमाएकाहरूको सम्मानका लागि उद्यान निर्माण गरिएको काठेखोला–१ वडाध्यक्ष खड्क थापाले बताए । उनका अनुसार उद्यानमा सशस्त्र द्वन्द्वका बेला ज्यान गुमाएका भरत शेरचन, नगेन्द्र थापा, भद्रकली थापा, धनबहादु थापा, हर्कबहादुर थापा र चाँदनी थापाको सालिक राखिएको छ ।

अघिल्लो वर्षदेखि निर्माण सुरु भएको उद्यान चालु आर्थिक वर्षमा सम्पन्न भएको हो । गण्डकी प्रदेश सरकार र काठेखोला गाउँपालिकाको संयुक्त लगानीमा उद्यान निर्माण गरिएको वडाध्यक्ष थापाले जानकारी दिए । उनका अनुसार प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० मा १५ लाख, चालु आवमा २० लाख र गाउँपालिकाले गत वर्ष दुई लाख र चालु आवमा दुई लाख विनियोजन गरेको थियो ।

३९ लाख बजेटबाट तीन सय ५० मिटर पदमार्ग, सालिक, गेट, सडक ढलान र घराबार निर्माण गरिएको वडाध्यक्ष थापाले जानकारी दिए । सहिदको सम्मानसँगै पर्यटन प्रवर्द्धन गर्न उद्यानले टेवा पुर्याउने भन्दै उद्यान जिल्ला सदरमुकाम बागलुङ बजार नजिकै रहेकाले पर्यटकीय हिसाबले पनि महत्त्वपूर्ण मानिएको उनको भनाइ छ ।

“सहिदको स्मृतिमा यो उद्यान निर्माण गरेका हौँ, यसले पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौँ । उद्यानसँग पहिचान, इतिहास र सम्मान पनि जोडिएको छ । राष्ट्रका लागि आफ्नो ज्यानको बलिदान दिनुभएका यही ठाउँका सहिदको सालिक उद्यानमा राखेका छौँ”, वडाध्यक्ष थापाले भने ।

उद्यानले गाउँको सुन्दरतालाई बढाएको भन्दै गत वर्ष चौतारालगायत भौतिक संरचना निर्माण गरिएको थापाले जानकारी दिए । “उद्यान नजिक द्वन्द्वकालका इतिहाससँग सम्बन्धित अभिलेख राखेर यस ठाउँलाई अध्ययन अवलोकन गर्ने गन्तव्यका रूपमा विकास गर्ने योजना छ”, उनले भने ।

काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले ग्रामीण पर्यटन प्रवर्द्धन गर्न यहाँ उद्यान निर्माण गरिएको बताए । गाउँपालिकाले अन्य ठाउँमा पनि पर्यटकीय पूर्वधार निर्माणसँगै र प्रचारप्रसारमा जुटेको भन्दै वडा नं १ मा सहिद उद्यान निर्माण गरिएको उनको भनाइ छ । काठेखोला पर्यटकीय हिसाबले निकै सम्भावना बोकेको ठाउँ भएकाले पर्यटनसम्बन्धी संरचना थप्दै जाने योजना रहेको उनले जानकारी दिए । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot