Logo

साङ्घाई कोअपरेसन सम्मेलन : राष्ट्रपति पुटिन र सीबीच प्रभाव जमाउने होडबाजी



अस्ताना, कजाखस्तान, १९ असार । रूस र चीनका नेताहरू पश्चिमी विरोधी गठबन्धनलाई कडा बनाउन र रणनीतिक मध्य एसियाली क्षेत्रमा आफ्नो प्रभाव बढाउन बुधबार कजाकस्तानमा क्षेत्रीय शिखर सम्मेलनका लागि पुगेका थिए ।

रूसका राष्ट्रपति भ्लादिमिर पुटिन मध्य एसिया, भारत र इरानलाई समेट्ने बेइजिङ नेतृत्वको क्षेत्रीय समूह साङ्घाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) को बैठकमा भाग लिन बुधबार बिहान कजाकस्तानको राजधानी अस्ताना पुगेका थिए ।

रूसले सन् २०२२ को फेब्रुअरीमा युक्रेनमाथि आक्रमण सुरु गरेयता मस्को र बेइजिङबीचको राजनीतिक, सैन्य र आर्थिक सम्बन्ध प्रगाढ बनेको छ ।

मङ्गलबार कजाकस्तान पुगेका चिनियाँ नेता सी चिनफिङसँगै यो जोडीले एससीओलाई युरेशियामा आफ्नो रणनीतिक हितलाई अगाडि बढाउने महत्वपूर्ण मञ्चका रूपमा हेरेका छन् ।

क्रेमलिनका सहयोगी युरी उशाकोभले पुटिनको आगमनअघि रूसी सरकारी सञ्चारमाध्यमसँग भने, “हामी यस सङ्गठनभित्र साझेदारी सहयोगलाई ठूलो महत्व दिन्छौं ।”

रूस र चीन दुवैले विश्व मञ्चमा अमेरिकी नेतृत्वको ‘आधिपत्य’ को विरोध गर्दै आएका छन् ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता माओ निङले यसै साताको सुरुमा एससीओ शिखर सम्मेलनले “सबै पक्षबीच थप सहमति निर्माण गर्न र सदस्य राष्ट्रहरूको सुरक्षा, स्थिरता र विकासलाई बढावा दिन योगदान गर्न’ र ‘विश्वमा दिगो शान्ति र साझा समृद्धि’ लाई अगाडि बढाउन मद्दत गर्ने विश्वास व्यक्त गरेका थिए ।

रूसले युक्रेनमाथि आक्रमण गर्नुभन्दा केही दिनअघि नै ‘सीमा विहिन’ रणनीतिक साझेदारी गरे पनि मस्को र बेइजिङ मध्य एसियाली क्षेत्रमा प्रभाव जमाउने ऐतिहासिक प्रतिद्वन्द्वी रहँदै आएका छन् ।

कजाखस्तान, किर्गिस्तान, ताजिकिस्तान, तुर्कमेनिस्तान र उज्बेकिस्तान पूर्व सोभियत गणतन्त्र हुन् र रूससँग ऐतिहासिक सांस्कृतिक, भाषिक र आर्थिक सम्बन्ध छ ।

तर चीनको बढ्दो आर्थिक शक्ति र यस क्षेत्रमा व्यापक लगानीले रूसी प्रभावलाई चुनौती दिएको छ ।

चीनको अन्तर्राष्ट्रिय रणनीतिक परियोजना बेल्ट एण्ड रोड अन्तर्राष्ट्रिय पूर्वाधार विकासका लागि मध्य एसिया महत्वपूर्ण छ ।

यो क्षेत्र प्राकृतिक स्रोतहरूमा धनी छ र चीन र युरोपबीच मालसामानको हवाइ यातायातको लागि महत्त्वपूर्ण छ ।

युक्रेनविरुद्ध रूसको युद्धलाई अन्य शक्तिराष्ट्रका लागि मस्कोसँग परम्परागत रूपमा गाँसिएको क्षेत्रमा प्रवेश गर्ने अवसर सिर्जना गर्ने अवसरका रूपमा पनि हेरिएको छ ।

अति बन्द तुर्कमेनिस्तान एससीओको सदस्य होइन, तर भारत, इरान र पाकिस्तानसँगै अन्य चार राष्ट्र यसका सदस्य हुन् ।

नौ सदस्यीय समूहमा टर्की र खाडीका केही मुलुकजस्ता १४ ’संवाद साझेदार’ छन् ।

मञ्चको मुख्य सत्रसँगै क्रेमलिनले पुटिनले शिखर सम्मेलनमा टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानलाई पनि सहभागी गराउने गरी केही नेतासँग द्विपक्षीय भेटवार्ता गर्ने योजना बनाएको जनाएको छ ।

नेटो सदस्य राष्ट्र टर्कीले युक्रेन युद्धमा आफूलाई सम्भावित मध्यस्थकर्ताका रुपमा प्रस्तुत गरिरहेको छ ।

सन् २०२३ को शिखर सम्मेलनमा रुसको निकट सहयोगी बेलारुसले एससीओको सदस्य बन्ने बताएपछि बैठकमा सहभागी हुने अपेक्षा गरिएको छ ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले पनि बिहीबार दुई दिने शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot