Logo

प्रचण्डलाई भोलिसम्म देखाईदिने एमालेको तयारी



काठमाडौं, १९ असार । नेकपा (एमाले) र नेपाली कांग्रेस दुवै दलले पार्टीको बैठकमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाललाई मार्गप्रशस्तको लागि आग्रह गरिसकेका छन् । तर, प्रधानमन्त्री दाहालले भने आफूले संविधानअनुसार विश्वासको मत फेश गर्ने अडान लिएका छन् । एमालेले हिजो (मंगलबार) साँझ सचिवालय बैठक राखेर राजीनामा दिन आग्रह गरेको थियो भने कांग्रेसले आज विहान केन्द्रीय कार्यसम्पादन समितिको बैठकमार्फत यस्तो आग्रह गरेको छ ।

तर, प्रधानमन्त्री दाहालले भने पहिला एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएमात्रै राजीनामाको बारेमा सोच्न सकिने धारणा राखेका छन् । माओवादी केन्द्रले प्रधानमन्त्री दाहालले राजीनामा नदिने बरु संसद्मा विश्वासको मत लिने निर्णय गरेको छ ।

एमाले नेताहरुले आज साँझसम्म पनि प्रधानमन्त्री दाहालले मार्गप्रशस्त नगरे भोलिबाट कडा एक्शन लिईने बताउन थालेका छन् । प्रधानमन्त्री दाहालले अब बन्ने सरकार संविधानको धारा ७८ को ३ अनुसार बनोस भन्ने चाहना राखेको एमालेको बुझाई छ । संविधानको धारा ७६ को २ अनुसार प्रधानमन्त्री बनेका दाहालले अब धारा ७६ को ३ अनुसार सरकार गठनको प्रक्रिया थाल्दा सरकारको नेतृत्व ठूलो दलको नाताले कांग्रेसले गर्ने विश्वास लिएका छन् ।

प्रधानमन्त्री दाहाल जसरीपनि एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बन्न नदिनको लागि लागिपरेका छन् । बरु, उनले देउवालाई सत्ताको चाबी सुम्पिन चाहेका छन् । दाहालको चाहना बुझेका नेताहरुले भने राजीनामाको लागि दबाब बढाएका छन् । एमाले अध्यक्ष ओलीले आज साँझसम्म प्रधानमन्त्री दाहालबाट राजीनामा नआए भोलि नै सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेका छन् । कतिपयले भने एमालेबाट सरकारमा सहभागी सबै मन्त्रीहरुले आजै साँझसम्म राजीनामा दिने तयारी गरेको पनि भनिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot