Logo

एमाले मन्त्रीहरुको सामूहिक राजीनामापत्र बुझेपछि प्रधानमन्त्री प्रचण्डले गाए फत्तेमानको गीत



काठमाडौं, १९ असार । नेकपा (एमाले) का मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेरै सामूहिक राजीनामा बुझाएका छन् । पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेसँगै एमालेबाट सरकारमा सहभागी ८ जना मन्त्रीहरुले आज (बुधबार) साँझ बालुवाटारमा पुगी प्रधानमन्त्री दाहालसमक्ष राजीनामा पत्र बुझएका हुन् ।

त्यसअघि उनीहरु अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित् निवास पुगेका थिए । राजीनामापत्र ग्रहण गर्दा प्रधानमन्त्री दाहालले कुनै राजनीतिक प्रतिक्रिया नदिएको एक मन्त्रीले जानकारी दिए । तर, उनले यादव खरेलले लेखेको र गायक फत्तेमान राजभण्डारीको स्वर रहेको चर्चित गीत “यस्तो पनि हुँदो रहेछ जिन्दगीमा कहिले कहिले” गाएर सुनाएका थिए ।

कांग्रेससँग मिलेर एमालेले नयाँ सरकार बनाउने समझदारी गरेको छ । जसअनुसार अब बन्ने सरकारको नेतृत्व एमाले अध्यक्ष ओलीले गर्नेछन् । एमाले र कांग्रेस दुवै दलले पार्टीका आधिकारिक बैठक राखेर प्रधानमन्त्री दाहाललाई राजीनामा दिन भनेका छन् । तर, प्रधानमन्त्री दाहालले आफूले संसद् फेश गर्ने भनेका छन् ।



प्रतिक्रिया दिनुहोस्