Logo

एकीकृत समाजवादीको नयाँ नेतृत्व चयन गर्न आज निर्वाचन



काठमाडौं, असार २० । नेकपा (एकीकृत समाजवादी)को नयाँ नेतृत्व चयन प्रक्रियाका लागि आज सुरु हुँदै छ । राजधानीको प्रज्ञा भवनमा जारी महाधिवेशनमा विभिन्न दस्ताबेज पारित भएसँगै आज निर्वाचन हुन लागेको हो । महाधिवेशनले राजनीतिक, संगठनात्मक, समाजवादी कार्यदिशा र विधान संशोधन प्रतिवेदन पारित गरेको छ ।

महाधिवेशनबाट २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी चयन हुनेछ । केन्द्रीय कमिटीमा अध्यक्ष एक, सम्मानित नेता एक, वरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष ६, महासचिव एक, उपमहासचिव चार र सचिव सातजना रहनेछन् ।

केन्द्रीय कमिटीले तोकेबमोजिम वरिष्ठ नेताहरू रहने वैधानिक व्यवस्था गरिएको छ । अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र सदस्य महाधिवेशनबाट निर्वाचित हुने व्यवस्था गरिएको छ । अध्यक्षका लागि निवर्तमान अध्यक्ष माधवकुमार नेपाल र निवर्तमान महासचिव घनश्याम भुसाल दाबेदार छन् । महाधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गर्ने जिम्मेवारी निर्वाचन मण्डललाई दिएको छ । निर्वाचनमण्डलले निर्वाचन प्रक्रियाअन्तर्गत मतदाता नामावली प्रकाशनको तयारी गरेको छ ।

मनोनयन दर्ता गर्ने, दाबी विरोध तथा उम्मेदवारी फिर्ता लिने समय, मतदानको कार्यसूची बिहीबार तोकिएको छ । पार्टी केन्द्रीय कमिटी, अनुशासन र लेखापरीक्षण कमिटीले संयुक्त रुपमा निर्वाचन निर्देशिका निर्माण गरेको छ ।

प्रत्येक जिल्लाबाट कम्तीमा एक जना सदस्य केन्द्रीय कमिटीमा प्रतिनिधित्व रहने सुनिश्चितता कायम गरिएको छ । सबै निर्वाचन क्षेत्रबाट केन्द्रीय कमिटीको निर्वाचन गर्दा २० प्रतिशत २५–४५ वर्ष उमेर समूहको आरक्षण गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।

असार १६ देखि २० गतेसम्म चल्ने महाधिवेशनले २१ पदाधिकारीसहित दुई सय ९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ । निर्वाचन विद्युतीय उपकरणबाट गरिने जनाइएको छ । एक हजार आठ सय ४९ प्रतिनिधिलाई विद्युतीय उपकरणबाट मतदानका लागि आवश्यक प्रशिक्षण प्रदान गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot