Logo

कांग्रेस–एमाले सत्ता सहकार्यमा गगन थापा बेखुश, माओवादीको भूमिकाको आलोचना



काठमाडौं, २० असार । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो दल सरकार बनाउने र भत्काउने खेलमा नलाग्ने दाबी गरेको एक साता बित्न नपाउँदै कांग्रेस र एमाले मिलेर सरकार बनाउने सहमति भएको छ । दुई ठूला दलले सत्ता सहकार्यको सहमति गर्दा महामन्त्री थापा कतै सक्रिय भूमिकामा थिएनन् । उनी त कतारमा भएको बेलामा यता दुई दलका नेतृत्वकर्ता शेरबहाद्ुर देउवा र केपी शर्मा ओलीले हतारमा सहमति गरेका थिए ।

अहिले सरकारको नेतृत्वमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नै छन् । उनलाई रास्वपा, माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी र अशोक राई नेतृत्वको जसपाको पनि साथ कायमै छ । रास्वपाका मन्त्रीहरुले त आजै राजीनामा दिने तयारी गरेका थिए । तर, प्रधानमन्त्री दाहालले केही दिनभित्रै विश्वासको मत लिने भएकोले कम्तिमा त्यतिञ्जेलसम्म साथ दिन आग्रह गरेपछि रास्वपाका मन्त्रीहरु राजीनामा दिनबाट रोकिएका हुन् ।

उता, अशोक राईका मन्त्रीहरुले आजै राजीनामा बुझाउने हल्ला छ । माधव नेपालले त तत्काल मन्त्री फिर्ता नबोलाउने भनिसकेका छन् । उनले आफ्ना मन्त्रीहरुले अन्तिमसम्म पनि प्रचण्डलाई साथ दिने घोषणा गरेका छन् । एमालेबाट मन्त्री बनेकाहरुले हिजो साँझ बालुवाटार पुगी प्रधानमन्त्री दाहालसमक्ष सामूहिक राजीनामा बुझाईसकेका छन् ।

एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको छ । सदनमा प्रधानमन्त्री दाहालले बहुमत गुमाइसकेका छन् । यस्तोमा सत्ता सहकार्यको लागि तम्तयार रहेका कांग्रेस र एमालेका नेताहरुले प्रधानमन्त्री दाहाललाई तत्काल राजीनामा दिन सुझाएका छन् । तर, दाहालले आफू संविधानले दिएको अधिकारको सदूपयोग गर्ने भन्दै सदन नै फेश गर्ने निश्कर्ष निकालेर बसेका छन् । बर, उनले विश्वासको मत लिनको लागि विलम्ब नगर्ने भनेका छन् ।

यता, कांग्रेसका महामन्त्री थापाले स्पष्टरूपमा अल्पमतमा परिसकेपछि प्रधानमन्त्री दाहालले राजीनामा दिएर नयाँ सरकार गठनको लागि बाटो देखाउनुपर्ने धारणा सार्वजनिक गरेका छन् । आज विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले संविधानअनुसार विश्वासको मत लिने अधिकार प्रधानमन्त्रीलाई भएपनि अल्पमतमा परेपछि राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने बताएका हुन् ।

संविधान संशोधनका लागि नेपाली कांग्रेस र एमालेका संख्याले मात्र नपुग्ने भएकाले अन्य दलहरूसहितको राष्ट्रिय सहमतिको सरकार बनाउने थापाको भनाई छ । यद्धपी थापा कांग्रेस र एमाले दुई ठूला दल मिल्दा मुलुक अराजकतातर्फ जाने संकेत गरेका छन् । उनले आफूले नचाहँदा नचाहँदै कांग्रेस र एमालेबीच सहकार्य हुन थालेको भनेर पनि आफूनिकटहरुसँग बोल्न थालेका छन् ।

कमजोर प्रमुख प्रतिपक्ष भयो भने लोकतन्त्रमा संकट आउने थापाको बुझाई छ । त्यसैले उनले कांग्रेस र एमाले मिल्दा सदनमा प्रतिपक्षी आवाज कमजोर हुने निश्कर्ष निकालेका छन् । थापा एमालेसँग तत्काल सहकार्य गरिनुमा आश्चर्यमा छन् । तर, माओवादी नेतृत्वको भूमिकाको कारण नै अहिलेको परिस्थिति सिर्जना भएको उनको बुझाई छ । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot