Logo

अफ्रिकी किशोरीलाई गर्भावस्थापछि शिक्षामा पहुँचका लागि राष्ट्रसङ्घको आह्वान



नैरोबी, केन्या, २० असार । संयुक्त राष्ट्रसङ्घका दुई एजेन्सीहरूले बुधबार पूर्वी र दक्षिणी अफ्रिकी देशहरूलाई गर्भवती बालिकाको शिक्षाको अधिकारको रक्षा गर्न कानूनी तथा नीतिगत योजना बनाउन र लागु गर्न आह्वान गरेका छन् ।

पूर्वी र दक्षिणी अफ्रिकामा युनिसेफका क्षेत्रीय निर्देशक एटलेभा कादिली र पूर्वी अफ्रिकामा युनेस्कोका क्षेत्रीय निर्देशक अलेक्ज्यान्ड्रोस मकारिगाकिसले आधा अफ्रिकी देशले मात्र गर्भवती बिशोरीले विद्यालय शिक्षा पूरा गर्न सुनिश्चित गर्न उपायहरू अपनाएको कुरा दुर्भाग्यपूर्ण भएको बताएका छन् ।

किशोरी आमालाई उनीहरूको शिक्षा र स्वास्थ्यको अधिकारको रक्षार्थ कानुन कार्यान्वयन गर्ने सहयोगी सरकार चाहिने राष्ट्रसङ्घका अधिकारीले केन्याको राजधानी नैरोबीमा जारी गरिएको संयुक्त विज्ञप्तिमा उल्लेख गरेका छन् ।

अधिकारीले यसका लागि शिक्षा सबैभन्दा सुरक्षात्मक र शक्तिशाली उपकरणमध्ये एक भएको उल्लेख गर्दै किशोरीले स्वस्थ र सहज जीवन यापनका लागि प्रयोग गर्न सक्ने जनाएका छन् ।

उनीहरूले किशोरीको विद्यालय छोड्ने अवस्थाको श्रेय असुरक्षित विद्यालय वातावरणलाई दिँदै भेदभाव तथा कलङ्ककोे मानसिकताले उनीहरूलाई आफ्नो गर्भावस्था लुकाउन बाध्य पार्ने जनाएका छन् ।

यसबाहेक, राष्ट्रसङ्घीय निकायहरूले गर्भावस्थाका कारण विद्यालय छोड्ने छात्रामध्ये पाँच प्रतिशत भन्दा कम मात्र पुनः विद्यालय फर्किने उल्लेख गर्दै यसको अर्थ प्रारम्भिक गर्भावस्थाले उनीहरूको शिक्षालाई अन्त्य गर्ने जनाएका छन् ।

उनीहरूले अनुकूल कानून र नीति, गलत विद्यालय संस्कृति, हानिकारक मान्यता र असमर्थ परिवार वा कम आय र बाल हेरचाहको बोझजस्ता अधिक व्यावहारिक कारणले किशोरी आमालाई प्रायः बच्चा जन्माएपछि विद्यालय छोड्न बाध्य पारिने जनाएका छन् ।

उनीहरूले उप–सहारा अफ्रिकामा ६० लाखभन्दा बढी गर्भवती र आमा बनिसकेका किशोरीहरू विद्यालयको पहुँचबाहिर रहेको उल्लेख गरेका छन् ।

यद्यपि राष्ट्रसङ्घीय निकायले यस्तो अवस्था दुर्भाग्यपूर्ण भएको जनाउँदै विद्यालय छोड्ने केटीहरूले जोखिमपूर्ण यौन व्यवहारमा संलग्न हुने, एचआईभीलगायतका यौन जन्य सङ्क्रमणबाट ग्रसित हुने तथा चाडै फेरि गर्भवती हुने सम्भावना बढाउँने बताएका छन् ।

माध्यमिक शिक्षा पूरा गर्ने शिक्षित किशोरीहरूमा तुलनात्मक रूपमा बढी स्वस्थ हुने, बढी कमाउने, ढिलो विवाह गर्ने, कम सन्तान जन्माउने र अर्को पुस्ताका लागि राम्रो स्वास्थ्य सेवा र शिक्षा प्रदान गर्ने प्रवृत्ति रहेको उनीहरूले खुलासा गरे । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot