Logo

ज्ञानेन्द्रको ७८औं जन्मोत्सव मनाउन नारायणहिटी दरबार अगाडि उपस्थित हुन शाही युवा शक्ति नेपालको आह्वान



काठमाडौं, २० असार । शाही युवा शक्ति नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहको ७८औं जन्मजयन्तीका अवसरमा आयोजना गर्न लागिएको कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै शाही युवा शक्ति नेपालले आगामी असार २३ गतेको दिनको १२ पूर्वराजा शाहको जन्मजयन्ती मनाउन नारायणहिटी दरबार अगाडि आउन आग्रह गरेको हो ।

देशभक्त, गणतन्त्रका विरोधी, हिन्दु धर्म र राजसंस्थाका पक्षधरलाई पूर्वराजाको जन्मजयन्ती मनाउन उपस्थित हुन आग्रह गरिएको छ । शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्काले नेपालमा राजसंस्था नहुँदा टुहुरोजस्तो बनेर दैनिक ४ हजारभन्दा बढी युवाहरु विदेशिनुपरेको बताए । उनले ज्ञानेन्द्रलाई तेस्रो पटक गद्धीआरोहण गराउनको विकल्प नरहेको बताए ।

‘नेपाली जनताहरु त कमै मात्रामा छन् । कार्यकर्ताहरुमात्रै छन् । कार्यकताबाट माथि उठेर यो देशमा राजसंस्था फर्काउन जनताहरु सडकमा आउनै पर्छ,’– उनले भने ।

उनले गणतन्त्रवादीहरु लगभग सकिइसकेको अवस्थामा रहेको दाबी गरे । परालको त्यान्द्रोजस्तो गणतन्त्र डढेर खरानी बनिसकेको उनको टिप्पणी छ ।

राप्रपाका महामन्त्री धवल शमशेर राणाले नेपालीहरुले गणतन्त्रवादीहरुसँग हिसाब माग्ने बेला आएको बताए । अब पनि नेपाली जनताले गणतन्त्रवादीहरुसँग हिसाब–किताब नखोज्ने हो भने देश गरिबी, अशिक्षा र बेरोजगारीको दलदलमा फसिरहने उनको भनाइ छ ।

महामन्त्री राणाले पूर्वराजा ज्ञानेन्द्र शाहको ७८औं जन्मजयन्ती मनाउनको लागि आगामी असार २३ गते मध्यान्ह १२ बजे नारायणहिटी दरबारको अगाडि उपस्थित हुने आग्रह गरे । उनले देशभक्त, गणतन्त्रका विरोधी, हिन्दु धर्म र राजसंस्थाका पक्षधरलाई पूर्वराजाको जन्मजयन्ती मनाउन उपस्थित हुन आग्रह गरे ।

साथै, उनले राप्रपाले निरङ्कुश राजतन्त्र नखोजेको प्रष्ट पारे । संविधानभित्र रहेर अभिभावकीय भूमिका निर्वाह गर्ने राजसंस्थाको कल्पना गरेको बताए । नेताहरुले कुनै दिन कुनै कालमा देशलाई अहित गर्न खोजेको खण्डमा त्यसलाई रोक्नका लागि राजसंस्थाको अपरिहार्य भएको बताए ।

उनले विश्वको २० वटा धनाड्य देशमध्ये आजसम्म ११ देशमा राजसंस्था कामय रहेको दाबी गरे । नेपालमा पनि आफ्नो परिवेश र माटो सुहाउँदो राजाको आवश्यकता रहेको बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot