Logo

‘भौगोलिक विकटताको आधारमा बजेट विनियोजन हुनु न्यायोचित’



काठमाडौँ, २० असार । सहरी विकासमन्त्री धनबहादुर बुढाले भौगोलिक विकटताको आधारमा बजेट विनियोजन हुनु न्यायोचित रहेको बताएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा बोल्दै मन्त्री बुढाले दुर्गम क्षेत्रलाई अझ बढी प्राथमिकतामा राखेर बजेट विनियोज हुनु आवश्यक रहेको बताए । “स्रोतको न्यायोचित वितरण केबल जनसङ्ख्याको आधारमा मात्रै गर्ने परम्पराबाट माथि उठेर भूगोल र भौगोलिक विकटतालाईसमेत मध्यनजर गरी दुर्गम क्षेत्रलाई अझ बढी प्राथमिकतामा राखेर बजेटको व्यवस्था गरिनुपर्दछ,” उनले भने । करिब ४३ हजार जनसङ्ख्या भएको डोल्पामा सहरी विकास मन्त्रालयको कूल बजेटको करिब १।८३ प्रतिशत मात्रै विनियोजन हुनु स्वभाविक, न्यायोचित र जरुरी रहेको उनको भनाइ थियो ।

मन्त्री बुढाले बर्सेनि हजारौँ पर्यटक भित्र्याउन सफल डोल्पाका बासिन्दाले नून र चामलको समेत अभाव झेल्दैआएका उल्लेख गरे । “डोल्पाको भौगोलिक अवस्था र त्यहाँको आवश्यकता अनुसार विनियोजित बजेट अझै प्रर्याप्त छैन,” उनले भने । सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको मर्म र भावनाअनुरुप डोल्पाली जनताका माग केही हदसम्म वर्तमान सरकारले सम्बोधन गरेको उनको भनाइ थियो ।

“विकट डोल्पामा पर्याप्त मात्रामा बजेट विनियोजन गरेर द्रुतगतिमा विकास गर्न आवश्यक छ,” उनले भने । विगतमा पहुँचका भरमा केही निश्चित क्षेत्र र भूगोलका लागि मात्रै बजेट छुट्टयाउने गरेकामा सहरी विकास मन्त्रालयले यस वर्ष बिना स्वार्थ निष्पक्षरुपमा बजेट न्यून पाएका जिल्ला तथा क्षेत्रमा न्यायोचित ढङ्गले आवश्यकता र औचित्यतताका आधारमा मात्रै बजेट विनियोजन गरेको मन्त्री बुढाले बताए । रासस/file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot