Logo

राष्ट्रपति सीद्वारा बाह्य हस्तक्षेपको प्रतिरोध गर्न विश्वका नेताहरुलाई सुझाव



बेइजिङ, २० असार । चिनियाँ राष्ट्रपति सी चिङफिङले बिहीबार कजाखस्तानको राजधानी अस्तानामा भएको मध्य एसिया शिखर सम्मेलनमा नेताहरूलाई बाह्य हस्तक्षेपको प्रतिरोध गर्न सुझाव दिएको राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।

“हामीले बाह्य हस्तक्षेपको प्रतिरोध गर्न, एकअर्कालाई दृढतापूर्वक समर्थन गर्न, एकअर्काको ख्याल राख्न र हाम्रो देशको भविष्य र क्षेत्रीय शान्ति र विकासलाई दृढतापूर्वक नियन्त्रण गर्न हातेमालो गर्नु आवश्यक छ,” सीले साङ्घाई कोअपरेशन अर्गनाइजेसन (एससीओ) को बैठकमा भने ।

मस्कोदेखि बेइजिङसम्म विशाल क्षेत्रलाई समेट्ने एससीओमा विश्वको लगभग आधा जनसङ्ख्या समावेश रहेको छ र यसको १० औँ सदस्यको रुपमा बिहीबार बेलारुसलाई स्वागत गरिएको छ ।

यस वर्षको आयोजक कजाकिस्तान, भारत, चीन, किर्गिजस्तान, पाकिस्तान, रसिया, ताजिकिस्तान, उज्बेकिस्तान र गत वर्षको आयोजक इरान यसका अन्य नौ स्थायी सदस्य हुन् ।

“एससीओ निष्पक्षता र न्यायको पक्षमा खडा हुनु विश्वका लागि अत्यन्त महत्त्वपूर्ण छ,” राष्ट्रपति सीले बताए ।

सीले बुधबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग छलफल गरेका थिए । छलफलका क्रममा राष्ट्रपति पुटिनले सीलाई साङ्घाई गठबन्धनले ‘निष्पक्ष बहुध्रुवीय विश्व व्यवस्थाको एक प्रमुख स्तम्भ’का रूपमा आफ्नो भूमिकालाई मजबुत बनाइरहेको बताए ।

एससीओको मुख्य उदेश्य सदस्य राष्ट्रहरुहरू बीच आर्थिक सम्बन्ध सुधार गर्ने र मध्य एसियामार्फत चीन र युरोपलाई जोड्ने विशाल परियोजनाहरूको विकास गर्नु हो ।

“हामीले विकासको अधिकारको रक्षा गर्नुपर्छ, समावेशीकरणको पालना गर्नुपर्छ, संयुक्त रूपमा प्राविधिक आविष्कारलाई बढावा दिनुपर्छ, औद्योगिक र आपूर्ति श्रृङ्खलाको स्थिरता र सहजता कायम राख्नुपर्छ, क्षेत्रीय अर्थव्यवस्थाको अन्तर्निहित शक्तिलाई प्रोत्साहित गर्नुपर्छ, र साझा विकासका लक्ष्य प्राप्तिलाई बढावा दिनुपर्छ,” सीले बिहीबार नेताहरूलाई भने । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot