Logo

२३ प्रतिशतले बढ्यो पर्यटक आगमन



काठमाडौं, असार २१ । अघिल्लो वर्षको ६ महिनाको तुलनामा यो वर्ष पर्यटक आगमन करिब २३ प्रतिशतले बढेको छ। नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२४ को ६ महिनामा पाँच लाख ८३ हजार १६ पर्यटक नेपाल आएका छन्।

सन् २०२३ को यही अवधिमाचार लाख ७६ हजार ४८१ पर्यटक आएको बोर्डको निर्देशक मणिराज लामिछानेले जानकारी दिए। अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो वर्षको छ महिनामा एक लाख छ हजारभन्दा बढी पर्यटक नेपाल आएका हुन्।

बोर्डका अनुसार सन् २०२३ को जुन महिनामा ७२ हजार २५० पर्यटक नेपाल आएकामा यो वर्ष गत वर्षको तुलनामा ६.२१ प्रतिशतले पर्यटक आगमन बढेको छ।

नेपाल आउने पर्यटकमध्ये भारतीय पर्यटक बढी छन्। सामान्यतया भारतबाट नेपाल घुम्न आउने पर्यटक गर्मी छल्न आउने भए पनि यो वर्ष जाडो महिनामा पनि नेपालमा उल्लेख्य भारतीय पर्यटक आएका थिए। भारतबाट जुनमा ३७ हजार ८३५ पर्यटक नेपाल भित्रिएका छन्।

दोस्रोमा अमेरिकाबाट आठ हजार २८१, चीनबाट सात हजार ४९४ जना पर्यटक नेपाल भित्रिएका छन्। चिनिया पर्यटकको सङ्ख्या विगतमा निकै ठूलो रहे पनि कोरोना संक्रमणपछि बढ्न सकेको छैन।

बंगलादेशबाट तीन हजार ८५७, बेलायतबाट एक हजार ९६९, अष्ट्रेलियाबाट एक हजार ५८९, भुटानबाट एक हजार ६६, मलेसियाबाट एक हजार १४, जापानबाट ९५३ र दक्षिण कोरियाबाट ८७५ पर्यटक आएको पर्यटन बोर्डले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot