Logo

चिमखोलामा नयाँ स्वास्थ्यचौकी भवन निर्माण



म्याग्दी, असार २१ । भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा स्वास्थ्यचौकी भवन निर्माण भएको छ । रघुगङ्गा गाउँपालिकाले रु एक करोड ६७ लाख लागतमा स्वास्थ्यचौकीको भवन निर्माण गरेको हो । आर्थिक वर्ष २०७८/७९ मा सुरु भएको भवन निर्माण योजना चालु आवमा सम्पन्न भएको गाउँपालिकाको प्राविधिक शाखाका प्रमुख कमलबहादुर चोखालले जानकारी दिए ।

सो भवन बनाउन निर्माण कम्पनीले रु ९७ लाख ७१ हजार दुई सय ५० मा २०८० वैशाख २६ गते सम्झौता गरेको थियो । आव २०७८/७९ मा रु ६९ लाख ५६ हजार आठ सय ७६ मा सम्झौता गरी जग्गा व्यवस्थापन र एकतले भवनको संरचना तयार पारेको थियो ।

पछिल्लोपटक भएको ठेक्का सम्झौतामार्फत पहिलो भुइँ तलाको प्लास्टर, पहिलो तलामा दुई कोठा, पर्खाल निर्माण, तारबार, रङरोगन, विद्युत् पानी जडानको काम भएको निर्माण कम्पनीका सञ्चालक विजय भट्टचनले बताए । भुइँ तलामा स्वास्थ्यकर्मी, उपचार, औषधि भण्डारण, सहायता, कार्यालय प्रमुखको कक्ष, सभाहल भएको भवनको पहिलो तलामा दुई परिवारका लागि आवास कोठा छन् । भवन निर्माण गर्न स्थानीयवासीको रु १० लाख र रघुगङ्गा गाउँपालिकाको रु १० लाख बजेटमा पाँच रोपनी जग्गा खरिद गरिएको थियो ।

नयाँ भवन हस्तान्तरण भएपछि सेवा सञ्चालनको तयारी गरेको रघुगङ्गा–७ का वडाध्यक्ष थकबहादुर पाइजाले बताए । हाल साँघुरो कोठा भएको कच्ची भवनबाट स्वास्थ्यचौकी सञ्चालन हुँदै आएको छ । यसअघि गत वर्ष रघुगङ्गा –४ दग्नाम र ५ झिँमा सहरी विकास तथा भवन आयोजना बागलुङले स्वास्थ्यचौकी भवन निर्माण गरेको थियो । आठ वडा रहेको रघुगङ्गाको वडा नं १ बेगबाहेकका वडामा रहेका स्वास्थ्यचौकीको निर्माण भएको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot