Logo

अर्जुन लामा हत्या प्रकरणः अग्नि सापकोटाविरुद्धको मुद्दामा साउन २३ गते निर्णय सुनाइने



काठमाडौं, २१ असार। पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध रिटमा आगामी साउन २३ गते निर्णय सुनाइने भएको छ । उक्त रिट संवैधानिक इजलासमा अन्तिम सुनुवाइ सकिएर निर्णय सुनाउने मिति तय भएको थियो । यसअघि निर्णय सुनाउनका लागि मिति तय भएर पनि स्थगित भएको थियो ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको इजलासमा उक्त रिटको सुनुवाइ भएको थियो । सो रिट संवैधानिक इजलासको सबैभन्दा पुरानो मुद्दा हो ।

काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटाको संलग्नता रहेको दाबीसहित तत्काल कर्तव्य ज्यान मुद्दा अनुसन्धान अघि बढाउन माग गर्दै उनकी श्रीमती पूर्णिमाया लामाले २०६९ मंसिर ७ गते रिट निवेदन दायर गरेकी थिइन् ।

माओवादी द्वन्द्व चलिरहेका बेला २०६२ साल वैशाखमा काभ्रेको छत्रबाँझको कृष्ण मा.वि. व्यवस्थापन समितिका अध्यक्ष रहेका लामाको माओवादी कार्यकर्ताबाट हत्या भएको थियो । त्यसबेला काभ्रे माओवादीको नेतृत्वमा सापकोटा, रहेकाले हत्यामा उनीहरुको संलग्नता रहेको पीडित परिवारको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot