Logo

इरानमा दोस्रो चरणको राष्ट्रपतीय निर्वाचनको लागि शुक्रबार बिहानैदेखि मतदान सुरु



तेहरान, २१ असार । इरानमा गत मे महिनामा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका इब्राहिम रायसीको उत्तराधिकारीका लागि सुधारवादी उम्मेदवार मसूद पेजेस्कियान र संस्थापन पक्षधर सइद जलिलीबीचको प्रतिस्पर्धाका लागि शुक्रबार मतदान सुरू भएको इरानको गृह मन्त्रालयले जनाएको छ ।

इस्लामिक गणतन्त्रका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले स्थानीय समयअनुसार बिहान ८ ः०० बजे मतदान सुरु हुँदा मतदान गरेको सरकारी टेलिभिजनले जनाएको छ ।

गृहमन्त्री अहमद वाहिदीले सरकारी टिभीलाई बताए, “हामी १४ औं राष्ट्रपतीय निर्वाचनको दोस्रो चरणको मतदान शुक्रबार बिहानैदेखि सुरु भएको छ । निर्बाचनले देशका ५८ हजार ६३८ मतदान केन्द्र र विदेशका सबै मतदान केन्द्रमा दुई उम्मेदवारमध्येबाट भावी राष्ट्रपति चयन गर्नेछ ।”

गाजामा जारी युद्धलाई लिएर क्षेत्रीय तनाव बढेको, इरानको आणविक कार्यक्रमलाई लिएर इरानको पश्चिमा मुलुकसँगको विवाद र प्रतिबन्धग्रस्त अर्थतन्त्रको अवस्थाप्रति जनताको असन्तोषको पृष्ठभूमिमा मतदान हुन लागेको हो ।

इरानको निर्वाचन आयोगका अनुसार गत हप्ताको पहिलो चरणको निर्वाचनमा एक मात्र सुधारवादी उम्मेदवार पेजेस्कियानले सबैभन्दा बढी अर्थात् ४२ प्रतिशत मत प्राप्त गरेका थिए । पूर्व आणविक वार्ताकार जलिलीले करिब ३९ प्रतिशत मतका साथ दोस्रो स्थानमा आएका थिए । इरानको संविधानले व्यवस्था गरे अनुसार कुनै पनि उम्मेदवारको ५० प्रतिशत मत नपुगेको अवस्थामा दुई प्रमुख प्रतिस्पर्धीबीच निर्बाचन गनै व्यवस्था छ ।

गत निर्वाचनमा छ करोड १० लाख इरानी मतदातामध्ये ४० प्रतिशतले मात्र मतदान गरेका थिए । यो सन् १९७९ को इस्लामिक क्रान्तिपछि कुनै पनि राष्ट्रपतीय चुनावमा भएको सबैभन्दा कम मतदान हो । इरानका सर्वोच्च नेता खामेनीले पहिलो चरणमा सहभागिता ‘अपेक्षित रूपमा नभएको’ तर यो ‘प्रणालीविरुद्धको कार्य’ नभएको बताएका छन् ।

गत साता भएको मतदानमा कन्जरभेटिभ संसदका सभामुख मोहम्मद बघेर गालिबाफ १३।८ प्रतिशत मतका साथ तेस्रो स्थान प्राप्त गरेका थिए भने मौलवी मुस्तफा पोरमोहम्मदीले एक प्रतिशतभन्दा कम मत प्राप्त गरेका थिए ।

इरानमा सन् २०२५ मा राष्ट्रपति को चुनाव हुने तय भएको थियो तर मे महिनामा हेलिकप्टर दुर्घटनामा अतिरूढिवादी राष्ट्रपति रायसीको निधन भएपछि यो निर्वाचन अघि सारिएको थियो ।

इरानको आर्थिक समस्या, अन्तर्राष्ट्रिय सम्बन्ध, न्यून मतदान र इन्टरनेट प्रतिबन्धका बारेमा दुई पटक बहस भएको थियो ।

सन् २००८ देखि उत्तरपश्चिमी शहर ताब्रिजको प्रतिनिधित्व गर्दै आएका ६९ वर्षीय मुटु रोग विशेषज्ञ पेजेस्कियानले सन् २००८ देखि संसद्मा प्रतिनिधित्व गर्दै आएका छन् ।

उनले इरानको मुख्य सुधारवादी गठबन्धनको समर्थन प्राप्त गरेका छन् । पूर्व सुधारवादी राष्ट्रपतिहरू मोहम्मद खतामी र हसन रौहानीले उजको अभियानलाई समर्थन गरेका छन् ।

अर्का उम्मेदवार ५८ वर्षीया जलिलीले कट्टरपन्थी समर्थकहरूको ठूलो आधार जुटाएक छन् उनलाई गालिबाफ र अन्य दुई अतिरूढिवादी उम्मेदवारहरूको समर्थन रहेको छ । उनीहरू पहिलो चरणको प्रतिस्पर्धामा नै सहभागिताबाट बाहिरिएका थिए । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot