Logo

बारबर्दिया नगरअस्पतालमा निःशुल्क सर्पदंश उपचार सेवा सुरू



गुलरिया (बर्दिया), २१ असार । बर्दियाको बारबर्दिया नगरपालिकाको नगर अस्पतालमा निःशुल्क सर्पदंश उपचार सेवा सुरू भएको छ । सबै मापदण्ड पूरा गरी अनुमति पाएसँगै उपचार सेवा सुरु गरिएको हो ।

नगर स्वास्थ्य शाखा प्रमुख गोविन्द पौडेलले अस्पतालमा व्यवस्थापनका सबै तयारी पूरा भएपछि सेवा सुरु गरिएको जानकारी दिए । २४ सैँ घण्टा निःशुल्क सेवा दिँदै आएको यस अस्पतालमा सर्पदंश उपचार सेवा नहुँदा स्थानीयलाई नेपालगञ्ज पुग्नुपर्ने बाध्यता थियो । यसले खर्च र बाटोमै ज्यान गुमाउनुपर्ने जाखिम पनि थियो ।

अस्पताल विकास समितिका अध्यक्ष तीर्थराज पौडेलले सर्पदंश उपचारका लागि चिकित्सक तथा स्वास्थ्यकर्मीलाई तालिमसमेत प्रदान गरिएको बताए । “सर्पदंशको उपचार नहुँदा यस क्षेत्रका नागरिकले निकै कठिनाइ भोग्दै आएका थिए । समयमै उपचार नहुँदा ज्यान जाने जोखिम त थियो नै, नेपालगञ्ज जानुपर्ने भएकाले आर्थिक भार पनि उत्तिकै थियो । त्यही समस्या समाधान गर्ने उद्देश्यले सेवा सुरू गरेका छौँ”, उनले भने । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot