इस्लामाबाद, २१ असार । पाकिस्तानले गाजा पट्टीका मेडिकल विद्यार्थीहरूलाई मानवीय आधारमा दक्षिण एसियाली देशमा मेडिकल शिक्षा पूरा गर्न अनुमति दिने निर्णय गरेको छ ।
पाकिस्तानका उपप्रधानमन्त्री र विदेशमन्त्री इशाक दारको निर्देशनमा यो निर्णय गरिएको पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता मुमताज जहरा बलूचले बिहीबार साप्ताहिक मिडिया ब्रीफिङमा उल्लेख गरेका हुन् ।
गाजाका प्यालेस्टिनी विद्यार्थीहरू २०–३० को ब्याचमा चाँडै पाकिस्तानको मेडिकल कलेजहरूमा भर्ना हुने उनले बताए ।
प्रवक्ताका अनुसार यसले गाजाका विद्यार्थीको अधिकार तथा गाजाको स्वास्थ्य प्रणालीका महत्वपूर्ण आवश्यकता सम्बोधन गरी विद्यार्थीलाई कार्डियोलोजी, अर्थोपेडिक्स, ओन्कोलोजी, पेडियाट्रिक्स र शल्यक्रियाको क्षेत्रमा मेडिकल शिक्षा पूरा गर्न सक्षम बनाउनेछ । रासस