अस्ताना, कजाखस्तान, २१ असार । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले राष्ट्रसङ्घको महत्त्वपूर्ण साझेदारका रूपमा साङ्घाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) को भूमिकालाई जोड दिँदै कठिन विश्वव्यापी परिस्थितिका बीच विश्वव्यापी एकताका लागि आग्रह गरेका छन् ।
राजधानी अस्तानामा आयोजित एससीओ शिखर सम्मेलनलाई सम्बोधन गर्दै महासचिव गुटेरेसले विश्वव्यापी चुनौतिको समाधानका लागि व्यक्तिगत प्रयास भन्दा सामुहिक ऐक्यबद्धताको आवश्यकतामा जोड दिए ।
“यी विश्वव्यापी चुनौतिलाई कुनै पनि राष्ट्रको एकल पहलमा समाधान गर्न सकिँदैन,” उनले उग्र युद्ध, भूराजनीतिक विभाजन र दण्डहीनताको समस्यातिर औंल्याउँदै भने ।
महासचिवले विश्वव्यापी रूपमा दिगो विकास र मानव अधिकारको उपभोगका लागि शान्तिको वकालत गर्दै संयुक्त राष्ट्रसङ्घको बहुपक्षवादको केन्द्रीय भूमिकालाई उल्लेख गरे ।
उनले गाजा, युक्रेन र अफगानिस्तानजस्ता द्वन्द्व क्षेत्रमा तत्काल मानवीय युद्धविराम र समावेशी शासनका लागि आग्रह गरे ।
जलवायु सङ्कटलाई सम्बोधन गर्दै गुटेर्रेसले महत्त्वाकाङ्क्षी उत्सर्जन कटौती र जलवायु न्यायको आवश्यकतामा जोड दिँदै भने, “जलवायु परिस्थिति बिग्रिँदैछ, यसले पानी र खाद्य सुरक्षालाई खतरा पु¥याइरहेको छ र राजनीतिक अस्थिरतालाई बढावा दिइरहेको छ ।”
उनले विकसित देशहरूलाई जलवायु कार्यलाई समर्थन गर्न नवीन वित्तीय संयन्त्रहरू अवलम्बन गर्न आग्रह गरेका छन् ।
प्राविधिक क्षेत्रको अनियमित प्रयोगविरुद्ध चेतावनी दिँदै गुटेर्रेसले दिगो विकासका लागि आर्टिफसियल इन्टेलिजेन्स (एआई) को सम्भावनालाई प्रकाश पारे ।
उनले एआईसम्बन्धी नीतिहरूलाई आकार दिन समावेशी विश्वव्यापी सहभागिताको आवश्यकतामा जोड दिएका हुन् ।
विश्वव्यापी शासन संस्थाहरू पुरानो र समकालीन चुनौतिहरूलाई सम्बोधन गर्न अपर्याप्त भएको भन्दै महासचिव गुटेर्रेसले यसको सुधार आवश्यक रहेको बताए । उनले संयुक्त राष्ट्र सुरक्षा परिषद्लाई सुधारको प्रस्ताव राख्दै आजको विश्वको वास्तविकतालाई प्रतिबिम्बित गर्ने नयाँ विश्वव्यापी एजेन्डा तयार गर्न वकालत गरेका छन् ।
गुटेरेसले आशावादी हुँदै आगामी सेप्टेम्बरमा हुने ‘फ्युचर’ शिखर सम्मेलनमा विश्व एकताको आह्वान गरेका छन् । “विश्व एकसाथ अगाडि बढ्नका लागि यो एउटा महत्त्वपूर्ण क्षण हो, उनले अन्तर्राष्ट्रिय सुधार र सहयोगको सन्दर्भमा महत्त्वपूर्ण छलफलका लागि विश्व नेताहरूलाई न्युयोर्कमा आमन्त्रित गर्दै बताए । रासस