काठमाडौं, असार २२ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। उक्त प्रभावका कारण अहिले मधेश र कर्णाली प्रदेशका एक(दुई स्थानमा, कोशी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । सबै प्रदेशका धेरै स्थानहरूका मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती , गण्डकी , लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको एक-दुई स्थानमा धेरै भारी देखि अति भारी वर्षाको पनि सम्भावना रहेको छ ।
त्यस्तै, आज राती देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । कोशी र मधेश प्रदेशका केही तथा बाँकी प्रदेशका धेरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा कोशी प्रदेशका एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका प्रदेशका एक-दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।