Logo

व्यवसायी ज्ञानेन्द्रलाल प्रधानले १० ठाउँमा शवदाह गृह बनाउन १० करोड दान दिने



काठमाडौं असार २३ । व्यवसायी ज्ञानेन्द्रलाल प्रधान तथा उनको परिवारले विभिन्न १० स्थानमा शवदाह गृह निर्माणका लागि १० करोड रुपैयाँको दान दिने भएका छन् ।

ज्ञानेन्द्रलालका साथै डा. बिमला प्रधान, नमिता प्रधान, चेतन प्रधान र अबनभ जोशी ट्रस्टमार्फत विभिन्न चारवटा स्थानमा शवदाह गृह बनाउने काम सुरु भइसकेको जानकारी दिदै व्यवसायी प्रधानले चाँडै बाँकी ६ वटा पनि काम अघि बढाइने बताए । शवदाह गृह बनाउनका लागि सामाजिक उतरदायित्व (सिआरएस) अन्र्तगत सो रकम दान गर्न लागेको उनले जानकारी दिए ।

प्रधानको जलविद्युत, सेयर र पर्यटन क्षेत्रमा लगानी रहेको छ । उनको बिजनेस अहिले छोरी र छोराले सम्हाल्न थालेका छन् ।पहिलो शवदाह गृह बुटवलको मगरघाटमा बन्दै छ । त्यहाँ दाउराको शवदाह गृह निर्माण सुरु भएको छ । एक महिनाभित्र मगरघाटमा शवदाह गृह पूर्वाधार सम्पन्न हुने प्रधानले बताए ।

यस्तै दोस्रो चरणमा ललितपुर महानगरपालिकाको विष्णुदेवी मन्दिर नक्खुमा शवदाह गृह बनाउने तयारी भएको छ । महानगरले शवदाह गृह बनाउन ४ रोपनी जग्गा दिएकाले प्रक्रिया अघि बढेको छ ।

महानगरसँग शवदाह गृह बनाउन सम्झौतासमेत भइसकेको उनले जानकारी दिए । अहिले जग्गामा वृक्षरोपण भइरहेको छ ।आगामी वर्ष शवदाह गृह निर्माणको काम सुरु हुने भएको छ । यो पनि दाउराकै हुनेछ । लास जलाउँदा दुर्गन्ध र धुवाँ नआउने प्रविधिको हुने छ ।

तेस्रो शवदाह गृह बनेपा उपमहानगरपालिकामा बनाउने तयारी छ । यसका लागि पनि प्रक्रिया अघि बढेको छ । र, चौथो शवदाह गृह प्रधानको गृहनगर तनहुँको बन्दीपुरमा बन्ने भएको छ । बाँकी ६ वटा शवदाह गृह बनाउने योजना छ । यसका लागि रोटरीसँग सम्झौता भएको छ ।

‘अहिलेसम्म ६० स्थानमा शवदाह गृह बनाउनका लागि प्रस्ताव परेको छ । हामीले बनाउने अब ६ स्थानमा मात्र हो’ उनले सुनौलो नेपालसँग भने ‘बाँकी शवदाह गृह बनाउन रोटरीमार्फत चन्दा संकलन गर्ने तयारी भएको छ ।’

उनका अनुसार एउटा इलेक्ट्रिक शवदाह गृह बनाउन साढे २ करोड रुपैयाँ लाग्छ । ग्यासको १ करोड २५ लाख र दाउराको ४० देखि ५० लाख रुपैयाँ शवदाह गृह बनाउन लाग्ने देखिएको छ ।१० मध्ये विद्युतीय, ग्यास र दाउराको कति बन्ने हो सोही आधारमा लागत तय हुने उनले जानकारी दिए । प्रधानले १० वटा शवदाह गृह बनाउन न्यूनतम ८ देखि १२ करोड रुपैयाँसम्म खर्च हुने बताए ।

उनले शवदाह गृह उपकरण मात्र किन्ने र जडान गर्ने छन् । बाँकी पूर्वाधार तयार स्थानीयबाट हुनुपर्ने छ । यसका लागि स्थानीयबाट झण्डै १५ करोड रुपैयाँ थप लगानी हुनेछ । शवदाह गृहमा भवनलगायत अन्य संरचना समुदायले बनाउनुपर्ने हुन्छ । खानेपानी सुविधा स्थानीयको लगानी हुनुपर्छ । स्थानीयको समेत जोड्दा १० स्थानमा नयाँ प्रविधिको सवदाहगृह बनाउन २५ करोड रुपैयाँसम्म खर्च हुने देखिएको छ ।

शवदाह गृह नयाँ प्रविधिमा आधारित भएकाले वातावरणमैत्री हुने दाबी प्रधानको छ । दाउराबाट निस्कने ८० प्रतिशत धुलो र धुवाँ हट्ने उनको भनाई छ । यस्तै विद्युतीय ग्यासको पनि पुरै वातावरणमैत्री हुने छ ।

हिन्दु र बौद्ध परम्पराअनुसार मृतक शरीररलाई जलाउने गरिन्छ । यसका लागि वार्षिक ४ लाख रुख काटिने गरेको उनले सुनाए । मान्छे पनि कम भएकाले वातावरणीय दृष्टिकोणले हेरेर वातावरणमैत्री बनाउनुपर्ने अवस्था छ ।



प्रतिक्रिया दिनुहोस्