Logo

रामग्रामका महिलालाई सहुलियत दरमा स्वास्थ्य सेवा प्रदान



नवलपरासी, २५ असार । पश्चिम नवलपरासीमाको रामग्राम नगरपालिकाले नगरभित्रका महिलाको स्वास्थ्य उपचार सहुलियत दरमा गर्दै आएको छ । चालु आर्थिक वर्ष ०८०/८१ मा महिला लक्षित विभिन्न कार्यक्रम सञ्चालन गरी महिलाको स्वास्थ्य चेकजाँच र उपचारमा सहुलियत दिने गरेको नगरप्रमुख धनपत यादवले जानकारी दिए ।

नगरपालिकाले गर्भवतीका लागि निःशुल्क रूपमा भिडियो एक्स–रे, एम्बुलेन्स सेवा, पोषण झोला वितरण, महिला स्वास्थ्य स्वयंसेविकालाई स्वास्थ्य बीमा, घरदैलोमा नै पुगेर स्वास्थ्य परामर्श र सामुदायिक विद्यालयका छात्रालाई स्यानेटरी प्याड वितरणजस्ता काम गरेको उनले बताए ।

“नगरपालिकाले घरदैलो भिडियो एक्स–रे कार्यक्रमअन्तर्गत नगरभित्रका आठ स्थानबाट गर्भवतीको निःशुल्क अल्ट्रासाउन्ड सेवा र निःशुल्क क्याल्सियम चक्की वितरण गरेको छ । चालु आवमा आठ सय ८२ जनालाई सोसेवा प्रदान गरेको छ”, नगरप्रमुख यादवले भने ।

यस्तै नगरपालिकाले चालु आवमा ४४ गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरेको र २३ जनालाई थप उपचारका लागि अन्यत्र पढाएको छ । स्वास्थ्य शाखाकानुसार गत वर्ष छ सय १९ गर्भवती र दुई सय ७६ सुत्केरी गरी आठ सय ९५ जनालाई पोषण झोला वितरण भएको थियो ।

रामग्राम नगरपालिकाले चालु आवदेखि सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाका लागि निःशुल्क स्वास्थ्य बीमा पनि गरिदिएको जनस्वास्थ्य निरीक्षक सुरज हरिजनले जानकारी दिए ।

घरमै पुगेर सुत्केरी आमा र बच्चाको जाँच तथा परामर्श, विद्यालय स्वास्थ्य शिक्षा, कुपोषित बालबालिका, कुष्ठरोगी तथा क्षयरोगका बिरामीको खोजपडताल कार्यक्रम सञ्चालन गर्दै आएको पनि उनले बताए । यसैगरी सामुदायिक विद्यालयमा अध्ययनरत छात्राका लागि निःशुल्क स्यानेटरी प्याड वितरणकार्य भइरहेको नगरपालिकाले जनाएको छ । रासस



प्रतिक्रिया दिनुहोस्