देउखुरी (दाङ), २५ असार । गढवा गाउँपालिका–५ खजरौटामा आमा समूह गठन भएको तीन वर्षभयो । मुक्तकम्लरी विकास मञ्चको बालविवाह न्यूनीकरण कार्यक्रमअन्तर्गत गठित आमा समूहले गाउँघरमा हुने हरेक कार्यक्रममा सहभागिता जनाउने गरेको छ ।
समूहका अध्यक्ष आनन्दा यादव ४६ वर्षकी भइन् । उनी आमा समूहमा आवद्ध भएपछि धेरै कुरा सिक्ने अवसर मिलेको बताउँछिन् । बालविवाह न्यूनीकरण, महिला हिंसाको वकालत, प्रजनन स्वास्थ्यका बारेमा हुने छलफलबाट धेरै सिकाइ भएको उनले बताइन् ।
“समूहमा आबद्ध नहुँदासम्म धेरै कुरा थाहा थिएन । अहिले कानुनी र व्यावहारिक सबै कुरा थाहा भएपछि समाजलाई सचेत बनाउन लागेका छौँ । आमा समूहमार्फत बालविवाह रोकथाम तथा छोराछोरीको उमेर पुगेपछि मात्र विवाह गर्न सुझाव दिने अभियानमा जुटेका छौँ”, उनले भनिन् ।
समूहका सचिव गरिमा बुढाथोकी आफैँले १७ वर्षको उमेरमा भागी बिहे गरेक थिइन् । सानो उमेरमा विवाह गर्दा शारीरिक, मानसिक तथा अन्य वृत्तिविकासमा असर पुग्ने अनुभव गरेपछि ३५ वर्षको उमेरमा उनी बालविवाह घटाउने अभियानमा जोडिएकी छिन् ।
“सानो उमेरमा बिहे गर्नुहुँदैन भन्ने कुरा उबेला थाहै भएन । बिहे गरियो तर अहिले पछुतो लागिरहेको छ । उमेर पुगेर गरेको विवाहले शारीरिक मानसिक रूपमा परिपक्क हुन पाइने कुरा अहिले मात्रै थाहा भएको छ”, सचिव बुढाथोकीले भनिन्,“अचेल गाउँघरमा हुने महिलाहिंसा न्यूनीकरण, बालविवाह रोकथामलगायत विषयमा वकालत गर्ने गरेका छौँ । यसले अहिलेका पुस्ता र अभिभावकलाई सचेत गराउन योगदान पुगेको छ ।”
बालविवाह र महिला हिंसा मात्रै होइन समूहले सदस्यलाई बचत गर्न सिकाइ आवश्यक परेका समयमा लगानीसमेत गर्ने गरेको छ ।
मक्तकम्लरी विकास मञ्चका फिल्ड संयोजक ज्ञानु थापाले किशोर अवस्थामा आउने परिवर्तन तथा उत्सुकता मेटाउन बाल क्लब र आमा समूह गठन गरेर काम भइरहेको बताइन्। यी समूहलाई मञ्चले तालिम तथा अन्य कार्यक्रममार्फत सचेतना अभिवृद्धिमा समेत जोड दिइरहेको उनले जानकारी दिइन् ।
“आमाहरूलाई गाउँघरमा हुने हिंसा घटाउने काममा लगाउने मात्रै होइन उहाँहरूको आएआर्जन वृद्धि गर्न व्यावसायिक तरकारी खेतीका लागि सहयोग गरिरहेका छौँ । पालिकाको कृषि शाखासँग समन्वय गरेर आमा समूहलाई कृषिमा आत्मनिर्भर बनाउने अभियान पनि सँगसँगै अगाडि बढाइरहेका छौँ”, थापाले भनिन् ।
गढवागाउँ पालिकाका उपाध्यक्ष शारदाकुमारी चौधरीले बालविवाह न्यूनीकरणका लागि अन्तरक्रिया, सडक नाटक देखाउने र पालिकाभित्रका वडाका गुरुबा, धामी र महतवालाईसँगै राखेर जनचेतनामूलक कार्यक्रम गर्ने गरेको बताइन् । यसकार्यले बालविवाह र हिंसा घटाउन योगदान पुगेको उनले जानकारी दिइन् ।
“विद्यालयमा बाल क्लब र गाउँमा आमा समूह गठन गरेर जानकारीमूलक कार्यक्रम भइरहेका छन् । पालिकाले पनि प्रत्येक वर्ष मुक्तकम्लहरी, सीमान्तकृत समुदाय र पछाडि परेका वर्गको उत्थानका लागि कार्यक्रम गर्ने गरेको छ”, उनले सुनाइन् ।
यहाँका आमाहरू आफैँ अभियानमा जुटेपछि महिला हिंसा र बालविवाह घटाउन सहज भएको जानकारहरू बताउँछन् । यहाँका अन्य पालिका र वडाले पनि यस अभियानलाई विस्तार तथा लागू गर्नसके थप सहज हुने समूहमा आवद्ध आमाहरूको विश्वास छ । रासस