Logo

संसदीय छानबिन विशेष समितिले आज सहकारी पीडितसँग छलफल गर्दै



काठमाडौं, असार २६ । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले आज पीडितसँग छलफल गर्दैछ । समितिले छलफलका लागि २९ वटै सहकारीसहित अन्य सहकारीका प्रतिनिधिमूलक पीडितलाई बोलाएको छ। समितिको मंगलबारको बैठकले पीडितसँग आज छलफल गर्ने तय गरेको थियो ।

अहिले बिहान ११ बजे सिंहदरबारस्थित संसदको सार्वजानिक लेखा समितिको हलमा बस्ने बैठकमा पीडितसँग छलफल गरेर समस्याको खोजी र समाधानका उपायबारे समिति केन्द्रित हुनेछ । ३ महिनाको समय पाएको छानबिन समितिले यसअघि सम्बन्धित निकाय र विज्ञहरूसँग छलफल गरेको थियो । 

समितिलाई समस्यामा परेका बचतकर्ताको रकमका बारेमा अध्ययन गरी सिफारिस गर्ने, बचत फिर्ताको अवस्थाबारे अध्ययन गर्ने, रकम हिनामिना भएको भनिएका सहकारीबाट गोरखा मिडिया नेटवर्कमा रकम पठाउँदा कानूनबमोजिम प्रक्रिया पूरा भएरनभएको अध्ययन गर्नेलगायत जिम्मेवारी दिइएको छ।

समितिले सहकारी संस्थाहरूमा देखिएको सङ्कट तथा यससँग जोडिएको कानुनी र संस्थागत प्रयोजन एवं वित्तीय प्रणालीको नियमन, सुपरिवेक्षण र पारदर्शिता सम्बन्धमा अध्ययन गरी सुझाव दिने छ । त्यस्तै समस्यामा परेका सहकारी संस्थाका बचतकर्ताको बचत रकमको सुरक्षा गर्न, जोखिममा रहेको तथा दुरुपयोग भएको बचत रकम छिटो र सहज ढंगले फिर्ता गर्न सकिने उपायका सम्बन्धमा अध्ययन गरी सिफारिस गर्ने छ ।

समितिले बचतकर्ताको बचत सुरक्षा र बचत फिर्ताको उपायसहितको सुझाव दिने छ भने गोरखा मिडिया नेटवर्कमा पैसा गएका सहकारीको छानबिन गर्ने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्