Logo

सुनिता बराल मन्त्री बन्दै, पर्यटन मन्त्रालयमा पठाउने पार्टीको तयारी



काठमाडौं, २७ असार । नेकपा (एमाले) ले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा बन्ने नयाँ सरकारमा मन्त्री बनाउनको लागि अहिलेदेखि नै गृहकार्य थालेको छ । शीर्ष नेताहरु मन्त्रिमण्डलमा क–कसलाई पठाउने भनेर छलफलमा जुटेका छन् । कांग्रेस र एमाले मिलेर बनाउने नयाँ सरकारमा काविल मन्त्रीहरु पठाउने दुवै दलको तयारी छ ।

एमालेले अर्थ मन्त्रालयसहित विभिन्न ९ वटा महत्वपूर्ण मन्त्रालय पाउने भएको छ । अर्थ मन्त्रालयको नेतृत्वमा पार्टीका उपाध्यक्ष विष्णु पौडेल जाने लगभग पक्का छ । अध्यक्ष ओलीले युवा तथा महिला सांसदहरुलाई पनि उचित स्थान दिने भनिसकेका छन् । यसपटक विद्या भट्टराई र सुनिता बराल मन्त्री बन्ने चर्चा छ। भट्टराई काँस्की-२ बाट निर्वाचित सांसद हुन् ।

उनी लगातार दुई पटक निर्वाचित सांसद हुन् । उता, सुनिता बराल भने विद्यार्थी राजनीतिबाट संसदीय राजनीतिमा आएकी हुन् । उनी अनेरास्ववियुको अध्यक्षसमेत भैसकेकी छिन् । अहिले संसदीय दलको सचेतकको जिम्मेवारीमा छिन् । अन्तर्राष्ट्रिय सम्बन्ध र कुटनीतिमा दख्खल राख्ने बराललाई सरकारमा पठाउनको लागि युवा पुस्ताका नेताहरुको पनि नेतृत्वमाथि दबाब छ ।

उनी अहिले संसद्को अन्तर्राष्ट्रिय श्रम समितिमा छिन् । उनी अन्तर्राष्ट्रिय सम्बन्धमा नै विद्यावारिधी गर्दैछिन् । विद्या भट्टराईलाई शिक्षा मन्त्रालयमा र सुनितालाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको नेतृत्वमा पठाउनेगरि छलफल भएको पार्टीनिकट उच्च स्रोतको दाबी छ । file photo



प्रतिक्रिया दिनुहोस्