काठमाडौं, २८ असार । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनको लागि आह्वान गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले सदनमा आफूमाथि विश्वास छ भनेर राखेको प्रस्ताव बहुमतले अस्विकृत भएपछि दाहाल नेतृत्वको सरकार कामचलाउ भैसकेको थियो ।
राष्ट्रपति पौडेलले संविधानको धारा ७६ (२) अनुुसार नयाँ सरकार गठनको लागि आह्वान गरेका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलेजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तीमा संविधानको धारा ७६ को २ अनुसार यही असार ३१ गते आइतबार ५ बजेभित्र दाबी पेश गर्न आह्वान गरिएको छ ।
उता, एमाले र नेपाली कांग्रेसले नयाँ सरकारको लागि दाबी पेश गर्ने तयारी गरिसकेका छन् । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दाबी पेश गर्ने पत्रमा हस्ताक्षर गरिसकेका छन् । राष्ट्रपतिको यो आह्वानसँगै उनीहरु नयाँ सरकारको लागि दाबी गर्न आजै शितलनिवास पुग्ने बताईएको छ ।