Logo

कांग्रेस-एमाले सत्ता सहकार्य जनादेशको अपमान हो : प्रभु साह (भिडिओसहित)



काठमाडौं, २९ असार । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले जबरजस्त शासक बन्न खोज्दा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल अहिले कमजोर बनेको टिप्पणी गरेका छन् । उनले प्रचण्डको छवि दमित, शोषित र पीडितहरुको नेताको रुपमा रहेको भएपनि पछिल्लो समय जबरजस्ती शासकको अभ्यास गर्न खोज्दा यता न उताको भएको दाबी गरे ।

हिजो (शुक्रबार) राति प्राइम टिभीबाट प्रसारण भएको “जनता जान्न चाहन्छन्कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा सांसदसमेत रहेका पूर्वमन्त्री साहले प्रचण्डले गरिब, शोषित वर्गको नेतृत्व गरेकोमा अहिले भूमिका अर्को ढंगको भएकोले कमजोर भएको दाबी गरे ।

उनले प्रचण्डको पक्षमा आज संसद्मा देखिएको ६३ सांसदहरुको साथको संख्यापनि ठूलो रहेको बताए । साहले दुनियाँमा कहीँपनि दुई ठूला शक्तिहरु एक ठाउँमा आएको इतिहास विरलै भएकोमा यसपटक नेपालमा कांग्रेस र एमाले मिलेकोमा प्रश्न उठाए । उनले कांग्रेस र एमालेबीच भएको सत्ता सहकार्यको गठबन्धनलाई जनादेशको अपमानको संज्ञा दिएका छन् ।

उनले देशमा विद्यमान लुटकारी व्यवस्थाकै कारण सबै ठाउँमा भ्रष्टाचार र कुशासन हाबी भएको दाबी गरे । यी सबै समस्या अहिलेको व्यवस्थाकै कारण उत्पन्न भएको भन्दै व्यवस्थाको निर्माणकर्ताहरुले त्यसको जिम्मा लिनुपर्ने उनको भनाई छ । उनले आफू अहिलेको लुटकारी व्यवस्था खारेजीको लागि आन्दोलनमा होमिएको सुनाए ।

उनले अहिलेको व्यवस्था नै थोत्रो भएकोले काम नलाग्ने देखिएको टिप्पणी गरे । व्यवस्था काम नलाग्ने भएकोले जताततै विकृति, विसंगति र भ्रष्टाचार मौलाएको उनको दाबी छ । उनले अहिले आएर संविधान संशोधनको कुरा उठाउने दल र ती दलका नेताहरुले जनतासामू माफी माग्नुपर्ने बताए ।

संविधानसभामा रहँदा आफूले संविधान जनताको पक्षमा नभएको भनेर विद्रोह गरेको पनि उनले स्मरण गराए । आफूहरुको आन्दोलनका उपलब्धिहरुलाई खोस्ने र बिगार्नेहरुले आज कुन नैतिकताको आधारमा संविधान संशोधनको कुरा गरेको ? भन्दै उनले संविधान संशोधन गर्न खोज्नेहरुमाथि प्रश्न तेर्साए ।

उनले संविधान संशोधनको आवाज उठाउनेहरुले त अब माफी मागेर राजनीतिबाट बाटो लाग्नुपर्ने माग गरे । उनले अहिले ठूला नेताहरुलाई चोरको संज्ञा दिए । अध्यक्ष साहले अहिले निर्वाचन प्रणालीमा राखिएको समानुपातिक व्यवस्थाको कारण देशमा कुनै तरक्की नहुने दाबी गरे ।

पूर्वमन्त्री साहले राष्टपति रामचन्द्र पौडेलले नयाँ सरकार गठन गर्नको लागि आह्वान गर्दा संविधानको धारा ७६ को २ अनुसार आह्वान गरिनु नै गलत भएको टिप्पणी गरे । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को २ अनुसार सरकार गठनको लागि आह्वान गर्नु नै ठूलो भूल भएको उनको भनाई छ ।

उनले भने,”कुन काूननले ? तपाईंलाई म भन्छु त्यही ठाउँमा यसअघि विद्यादेवी भण्डारी राष्टपति हुनुहुन्थ्यो । यस्तै अवस्थामा उहाँले सरकार गठनको लागि धारा ७६ को ३ मा जानुभएको थियो । केपीजीको विरुद्धमा त्यतिवेला बहमुत थियो । केपीजी धारा ७६ को ३ मा जानुभयो । राष्टपतिजीले पनि तेस्रो धारामा गएर शपथ गराउनुभयो । योभन्दा अगाडिको नजिर स्थापित छ । विद्यादेवी भण्डारी र केपी ओलीजीले एउटा नजिर स्थापित गरिसक्नुभयो । उहाँ संविधानको धारा ७६ को ३ अनुसार प्रधानमन्त्री बनिसक्नुभएको थियो । किनकी उहाँको विपक्षमा बहुमत थियो । हिजो बहुमत भएर २ मा किन आईएन ? तेस्रोमा किन जानुभयो ? विद्यादेवी भण्डारीले जे नजिर स्थापित गर्नुभएको छ, रामचन्द्र पौडेलज्यूले पनि त्यहीँ जानुपर्छ ।”

उनले अहिले संविधानको धारा ७६ (२) नै सरकार बनाउने हो भने एमाले अध्यक्ष केपी शर्मा ओलीले माफी माग्नुपर्ने बताए । उनले भने,”ओलीजीले माफी माग्नुपर्छ । मैले योभन्दा अघिको कार्यकालमा तेस्रो धारामा गएर गल्ती गरें, त्यो मेरो ठूलो भूल थियो । त्यो गैरकानूनी थियो । गैरसंवैधानिक थियो भन्नुपर्यो । म त त्यतिवेलापनि उहाँको क्याविनेटमा थिएँ । तीन पटक शपथग्रहण गरेको मान्छे हुँ । म त अहिलेपनि भन्दैछु कि त्यतिवेला केपी ओलीजीले ठीक गर्नुभएको थियो । अहिलेपनि त्यसैअनुसार हिँड्नुपर्छ । केपी ओलीले कम्तिमा पनि हाम्रो भावनाको कदर गर्नुपर्यो । उहाँ त्यतिवेला तेस्रो धारामा जानुभएको थियो । कि त उहाँले भन्नुपर्यो त्यतिवेला मैले संविधान मिचेकै हो । म कानूनअनुसार हिँडेको होईन भन्नुपर्यो । हिजो उहाँ र विद्यादेवी भण्डारी कानूनअनुसार हिँडेको हो भने आज गैरकानूनी काम गर्दै हुनुहुन्छ । ओलीजीले दुई वटामा एउटा त गल्ती गर्नुभएको छ ।”



प्रतिक्रिया दिनुहोस्