Logo

तेस्रो पटक प्रधानमन्त्री बन्दै ओली, यस्तो छ पाँच पटकको कांग्रेस–एमाले सत्ता सहकार्यको रेकर्ड



काठमाडौं, असार २९ । संसदका प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा (एमाले) विचको पछिल्लो राजनीतिक सहकार्यपछि एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली तेस्रो पटक मुलुकको प्रधानमन्त्री बन्दैछन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठनका लागि शुक्रबार आह्रवान गरेपछि अध्यक्ष ओली कांग्रेसको समर्थनमा तेस्रो पटक प्रधानमन्त्री हुन लागेका हुन् । राष्ट्रपति पौडेलले असार ३० गते आइतबार साँझ ५ बजेसम्मका लागि आफ्नो दावी पेश गर्न दलका नेताहरुका लागि समय निर्धारण गरेका छन् ।

यसअघि नेता ओली पहिलो पटक २०७२ असोज २४ गते देशको प्रधानमन्त्री भएका थिए। त्यसैगरी, दोस्रो पटक २०७४ फागुन ३ गते प्रधानमन्त्री बनेका थिए। अब तेस्रो पटक २०८१ असार ३० गतेभित्र प्रधानमन्त्रीको जिम्मेवारीमा आउँदै छन्।

नेपाली कांग्रेस र नेकपा (एमाले) बिच यसअघि पटक–पटक सत्ता सहकार्य भइसकेको छ । मुलुकमा भएको ठुला राजनीतिक परिवर्तनमा यसअघि दुई दलविच पाँच पटक सहकार्य भएको इतिहास छ । पछिल्लो समय २०७० मा संविधान जारी गर्नेबेला दुई दलविच सत्ता सहकार्य भएको थियो ।

पछिल्लो २६ वर्षमा कांग्रेस–एमालेविच ६ पटक सत्ता सहकार्य हुन लागेको छ । सरकारी रेकर्डअनुसार पहिलो पटक वि.सं.२०५५ मा काँग्रेस–एमालेविच सत्ता सहकार्य भएको थियो । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा एमालेले भरतमोहन अधिकारीको नेतृत्वमा सरकारमा सहभागी भएको थियो । सो सरकारले २०५६ वैशाखमा आम निर्वाचन गराएको थियो ।

२०६१ मा कांग्रेस–एमालेविच दोस्रो पटक सत्ता सहकार्य भएको थियो । तत्कालीन राजा ज्ञानेन्द्रले शेरबहादुर देउवालाई २०६१ चैत २१ गते प्रधानमन्त्रीमा नियुक्त गरेका थिए। प्रतिगमन आधा सच्चिएको भन्दै एमाले पनि देउवा नेतृत्वको सरकारमा सहभागी भएको थियो । यद्यपि सो बेला देउवाले नेपाली काँग्रेस (प्रजातान्त्रिक) पार्टी बनाएका थिए ।

२०६३ वैशाख १२ गते गठन भएको गिरिजाप्रसाद कोइराला नेतृत्वको अन्तरिम संविधानअनुसार बनेको सरकारमा पनि एमाले सरकारमा सहभागी भएको थियो । दुई दलविच यो सत्ता सहकार्यको तेस्रो कार्यकाल थियो । एमालेले सहाना प्रधानको नेतृत्वमा आफ्नो दलबाट सरकारमा सहभागी गराएको थियो ।

चौथो पटक सत्ता सहकार्य २०६६ जेठमा भएको थियो । कांग्रेसको प्रस्तावमा तत्कालीन एमाले नेता माधवकुमार नेपाल २०६६ जेठ ११ गते प्रधानमन्त्री बनेका थिए । कांग्रेसले सुजाता कोइरालाको नेतृत्वमा दलको तर्फबाट सरकारमा मन्त्री पठाएको थियो । सो अवधिमा नेता नेपाल लामो समय कामचलाउ प्रधानमन्त्री भएर पनि जिम्मेवारी निर्वाह गरेका थिए ।

संविधानसभाबाट नयाँ संविधान जारी गर्नेगरी २०७० माघ २७ गते सुशील कोइराला प्रधानमन्त्रीको जिम्मेवारीमा आएका थिए। फागुन १३ गते एमालेको तर्फबाट सरकारमा सहभागिता भएको थियो । दुई दलविच यो पाँचौँ पटक सत्ता सहकार्य थियो । सोही सरकारले २०७२ असोज ३ गते नयाँ संविधान जारी गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्