Logo

त्रिशुलीमा बेपत्ता बस खोज्न बङ्गलादेशबाट गोताखोर ल्याउने तयारी, आज ठूलो चुम्बकको प्रयोग गरिँदै



काठमाडौं, असार ३० । पहिरोले बगाउँदा त्रिशूली नदीमा बेपत्ता दुईवटा बसको आज तेस्रो दिन खोजी कार्य सुरु भएको छ । शुक्रबार र शनिबार दिनभर गरिएको खोजी कार्यबाट पहिरोले त्रिशूली नदीमा खसालेको बसलाई तीन दिनसम्म खोजी गर्दा पनि फेला पार्न नसकेपछि आजदेखि ठूलो चुम्बकको प्रयोग गरिने भएको छ ।

अन्य प्रयासबाट खोजी कार्यबाट पत्ता नलागेपछि चुम्बक (म्याग्नेट) को प्रयोग गरिने जिल्ला प्रशासन कार्यालय चितवनले सूचना प्रकाशित गरी जानकारी दिएको छ । शनिबार बिहान ८ बजेबाट खोजी गरिएको थियो भने आज बिहान ७ बजेबाट त्रिशूली नदीमा खोजी कार्य सुरु गरिएको छ । खोजी कार्यमा नेपाली सेनाको उद्धार टोली, सशस्त्र प्रहरी खटिएका छन् ।

घटना भएको तीन दिनसम्म पहिरोले बस खसेको ठाउँ वरपर बाँसका भाटा, एन्कर हुक, गोताखोर, ड्रोन, वाटर ड्रोन, बाइनाकुलर टेलिस्कोपको सहायताले खोजी गरे पनि बस नभेटिएपछि आजदेखि ठुलो म्याग्नेटको सहायताले खोजी गर्न लागिएको हो । बेपत्ता बसको खोजी कार्यमा प्रभावकारिता नदेखाएको भन्दै नदीमा हराइरहेका आफन्तले ‘‘दबाब दिन थालेपछि प्रशासनले थप प्रयास गरेको छ । नेपालमा उपलब्ध सबै उपाय लगाएर खोजी गर्दा पनि नभेटिएपछि बङ्गलादेशबाट गोताखोर ल्याउने प्रयास भइरहेको छ ।

आज नारायणी नदी तटीय क्षेत्रमा र्‍याफ्ट बोट तथा पैदल माध्यमबाट खोजतलास गर्ने, भरतपुर महानगरपालिको सहयोग र समन्वयमा एयर ड्रोनको प्रयोग गरेर घटनास्थलदेखि गोलाघाटसम्म खोजी गरिने प्रशासनले जनाएको छ ।

शुक्रबार बिहान वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको बागमती प्रदेश ०३२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस मुग्लिन नारायणगढ सडक खण्डमा माथिबाट खसेको पहिरोले बगाउँदा त्रिशूलीमा खसेर बेपत्ता भएको थियो ।

वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बसमा सात भारतीय नागरिकसहित २४ जना र काठमाडौँबाट रौतहट जाँदै गरेको बसमा २७ जना यात्रु सवार रहेको टिकट काउन्टरको विवरणबाट देखिन्छ । तर बिच बाटोबाट थप यात्रु पनि चढेको अनुमान गरिएको छ ।यी बस पहिरोले बगाउने क्रममा तीन जना यात्रु भागेर बाँच्न सफल भएका थिए भने अन्य यात्रु नदीमा बेपत्ता भएका छन् ।

बेपत्तामध्ये शनिबार बिहान भरतपुर महानगरपालिका– २८ गोलाघाटमा नारायणी नदीमा भेटिएको शव काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बसका यात्रु भारतीय नागरिक ऋषि पाल साह रहेको प्रहरीले जानकारी दिएको छ ।

शनिबार दिउँसो नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका– ७ स्थित नारायणी किनारमा दुई जनाको शव भेटिएको छ । उनीहरु सोही दुर्घटनामा बेपत्ता भएका यात्रु रहेको हुन सक्ने अनुमान गरिएको छ । ती शवको पहिचान भने खुलेको छैन ।



प्रतिक्रिया दिनुहोस्