काठमाडौं,३० असार । गत असार २८ गतेदेखि नारायणगढ–मुग्लिन सडकअन्तर्गत सिमलतालबाट पहिरोसँगै त्रिशूली नदीमा खसेर बेपत्ता दुई यात्रुवाहक बस खोज्ने क्रम जारी छ। दुर्घटना भएको दिनदेखि दैनिक खोजी भइरहेको भए पनि यात्रुसहित नदीमा हराइरहेका ती २ बस अझै फेला पर्न सकेका छैनन्।
काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको बस र वीरगन्जबाट काठमाडौँ आउँ गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस असार २८ गते बिहान चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरो जाँदा त्रिशूलीमा खसेका हुन्।
काठमाडौँबाट गौर जाँदै गरेको बसमा २७ तथा वीरगन्जबाट काठामाडौँतर्फ आउँदै गरेको बसमा २४ यात्रु रहेको स्थानीय प्रशासनले जनाएको छ। तीमध्ये शनिबार तीनवटा शव फेला परेका छन्। खोजीका क्रममा शनिबार दुर्घटनास्थल सिमलतालभन्दा ५० किलोमिटर तल गोलाघाटस्थित नारायणी नदी किनारमा एउटा शव र नवलपरासीको गैँडाकोटस्थित नारायणीकै किनारमा दुइटा शव भेटिएका हुन्।
प्रहरीका अनुसार मृतकहरू चितवन माडी नगरपालिका–१ का २२ वर्षीय विकास परियार, सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझी र भारतको बिहार सीतामणि बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषि पल साह भएको पुष्टि भएको छ।
बाँकी यात्रु तथा बसको खोजी आज तेस्रो दिन पनि जारी राखिएको छ। शनिबारदेखि पानीभित्रका वस्तु पनि देख्न सकिने सोनार क्यामरा, वाटर ड्रोन, पाइपलाइन इन्स्पेक्सन सिस्टम आदिको समेत प्रयोग भइरहेको छ। खोजीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना संलग्न छन्।
सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय (कुरिनटार) बाट ११ जना गोताखोरसहित ४५ जनाको टोलीले सोनार क्यामरा प्रयोग गरी घटनास्थलदेखि नारायणी नदीसम्म खोजी गरिनेछ ।
त्यस्तै अर्को सर्च टोलीले यसअघि प्रयोग भएका विभिन्न डिभाइसको प्रयोग गरी घटनास्थलदेखि १ किलोमिटर तल तथा भरतपुर महानगरपालिका–१६स्थित देवघाटदेखि ज्ञानेश्वर सामुदायिक वनसम्म खोजी गर्नेछ।
त्यसैगरी नम्बर १७ गण चितवनबाट विपद् व्यवस्थापन तालिम प्राप्त ११ जनासहित ४५ जना घटनास्थलदेखि ४० किलोमिटर तल गोलाघाटसम्म र्याफ्टिङ बोट र नदी किनारामा पैदलगस्ती गर्दै खोजीमा खटिनेछन्।
निरन्तर वर्षाका कारण नदीमा धमिलो पानी आउँदा सोनार क्यामरा र अन्य डिभाइसले समेत बेपत्ताहरूको खोजी असहज भइरहेको छ।
यसैबीच काठमाडौंबाट टिकट काटेर जाने र उताबाट काठमाडौं आउँदा लिएको टिकटभन्दा केही बढी यात्रु बसमा सवार रहेको पाईएको छ । गणपति डिलक्स बसमा थप ११ जना यात्रुहरुका आफन्तहरुले हराएको विवरण टिपाएका छन् । बसले चलानीमा २७ जना उल्लेख गरेपनि बसमा कम्तिमा ३८ जना सवार रहेको देखिएको प्रहरीको भनाइ छ ।
यस्तै एन्जल डिलक्स लेखेको बसको चलानीमा २३ यात्रु देखिए पनि बीचबाट थप ४ जना यात्रु चढेको पाइएको छ । चलानीमा उल्लेख नभएका दुबै बसमा गरेर थप १५ यात्रु बसमा यात्रारत रहेको देखिएको हो ।
घटनामा कुल ६५ यात्रु परेको देखिएको, ति मध्ये ३ जना पौडिएर बाँच्न सफल भएको र ४ जनाको शव भेटिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । तीमध्ये ३ जनाको सनाखत भएको र अर्को एक जनाको सनाखत हुन बाँकी छ । अझै ५८ जना यात्रुको अवस्था अज्ञात छ ।