Logo

चेपाङले चिनेको, समाजले नचिनेको चिउरी



काठमाडौँ, २७ असार (रासस)। चिउरी एक प्रकारको बहुउपयोगी वनस्पति हो । समुद्री सतहबाट दुई सय मिटरदेखि एक हजार पाँच सय मिटर उचाइका भिरपाखा, नदी किनार तथा खोँचका ओसिलो माटोमा हुर्कने र सप्रिने चिउरीको कुनै पनि भागलाई उपयोगमा ल्याउन सकिन्छ । विशाल छाँयादार चिउरीका रूखहरु सप्रेको ठाउँमा २०–२५ मिटरसम्म अग्लो र १०–१५ फुटसम्म गोलाइ हुने गर्छन् ।

प्राकृतिक अवस्थामा चिउरी सय वर्षसम्म सजिलै बाँच्न सक्ने रूख प्रजाति हो । चिउरी मकवानपुर, धादिङ, चितवनसहित विभिन्न जिल्लामा फैलिँदै गरेको अल्पसङ्ख्यक चेपाङ समुदायको संस्कृति र सभ्यतासँग जोडिएको वनस्पति पनि हो । समुन्द्र सतहदेखि १५ देखि २० मिटर उचाइ हुने चिउरी १२ वर्षदेखि ७० वर्षसम्म फल्छ भने एउटा रूखले कम्तीमा ५० देखि एक सय ५० किलोग्रामसम्म उत्पादन दिने गर्छ ।

पूर्वी नेपालदेखि सुदूरपश्चिमसम्म नै चिउरी पाइए पनि मध्यनेपाल र सुदूरपश्चिम क्षेत्रमा बढी पाइन्छ । बागमती प्रदेशमा मकवानपुर, चितवन, धादिङ चिउरी पाइने प्रमुख जिल्ला हुन् । घमाइलो पाखाको ओसिलो माटोमा चिउरी बढी सप्रिने गर्दछ । चिउरीको फल साना, अन्डाकार दुई सेमीसम्म लम्बाइका पाइने गर्छन् । फलको बाहिरी भाग गुदियुक्त, रसदार स्वादिष्ट हुन्छ भने बीचमा बियाँँ रहेको हुन्छ ।

हल्का पहेँलो रङको फूल हुने चिउरी असोज कात्तिकमा फुल्न सुरु भई माघ महिनासम्म फुल्ने गर्दछ । फागुनदेखि असारसम्म बोटमा फल लाग्छ । फल काँचोमा हरियो र पाकेपछि पहेँलो हुन्छ । फलभित्र एकदेखि तीन वटासम्म बियाँ हुन्छन् । बजारमा चिउरीको माग उच्च रहेको छ । प्रतिकेजी ७० को दरले चिउरी बिक्री हुने गरेको छ । एउटै रूखमा डेढ क्विन्टलसम्म चिउरीका बियाँ उत्पादन हुने गरेको छ ।

यतिबेला चिउरीको नयाँ बिरुवा लगाउने समय पनि सुरु भएको छ । वनस्पति विज्ञहरुका अनुसार बीउबाट चिउरीको विरुवा उमार्नु र खेतीका रुपमा लगाउनु उत्तम हुन्छ । असार–साउनमा पाकेको पहेँलो भएको चिउरीको फलबाट बीउ निकाल्नु उत्तम मानिन्छ । बियाँ धोएर छायाँमा सुकाएर फलबाट निकालेको सात दिनभित्र रोप्नु राम्रो हुन्छ ।

पात कुहेर बनेको जङ्गलको मलिलो माटो, बलौटे माटो र राम्ररी पाकेको गाईवस्तुको मल मिसाएर बनाइएको माटोमा बीउ रोप्दा बियाँ १२ घण्टा अगाडि भिजाउनु उपयुक्त हुने बताइएको छ । असार, साउन र भदौसम्म बीउ रोप्न सकिने बताइएको छ । २० देखि ४० सेन्टिमिटर अग्लो भएको विरुवा रोप्नु उपयुक्त हुन्छ । पाँच वर्षसम्म यसलाई मलजल गर्दा पुग्छ । चिउरी रोपेको बाह्र वर्षदेखि ७० बर्षसम्म फल्ने गरेको छ ।

बहुपयोगी चिउरी

चिउरी अत्यन्त गुणकारी र लाभदायक वनस्पति हो । यसको पातदेखि बिया फल, फूल, रूख सबै उपयोगी हुनाले यसलाई ‘कल्पवृक्ष’ पनि भन्ने गरिन्छ । फूल मात्रै होइन, चिउरीको चोप पनि सिकार गर्न प्रयोगमा आउँछ । चिउरीको चोप निकालेर लिसो बनाएर चराको सिकार गर्न सकिन्थ्यो ।

यसको बियाँबाट घीउ वा तेल निकालिन्छ भने पिना माछा मार्न विषका रुपमा र अन्नबालीमा मलका रुपमा प्रयोगमा हुने गर्छ । खुट्टा फुटे, घुँडा दुखे, अनुहारमा दाग आए यसको घीउ प्रयोग गर्न सकिन्छ । यस्तै, चिउरीको घीउ साबुन र मैनबत्ती बनाउन पनि प्रयोग गर्न सकिन्छ । चिउरीको घीउ कोलस्ट्रोलरहित हुने भएकाले मानव स्वास्थ्यका निम्ति लाभदायक मानिन्छ ।

फलबाट जुस, जाम र रक्सी पनि बनाउन सकिन्छ । चिउरीको फूलको रसबाट बनेको महको बजारमा छुट्टै मूल्य छ । स्वादिष्ट र पौष्टिक हुने बताइन्छ । पिनाबाट जैविक मल र कीटनाशक औषधि बनाउन सकिन्छ । हिलोले खुट्टा खाँदा औषधिका रुपमा पनि पिना प्रयोग गर्न सकिन्छ । चिउरीको काठबाट विभिन्न फर्निचरजन्य सामग्री निर्माण गर्न सकिन्छ । तेल तरकारी पकाएर खान तथा जीउ दुखेमा लगाउने गरिन्छ । चिउरीको पात गाईवस्तुलाई खुवाउन र टपरी गाँस्न प्रयोग गरिन्छ ।

चेपाङ र चिउरीको सम्बन्ध

चेपाङको रैथाने बसोबास चुरेक्षेत्र र महाभारतको विकट पहाडी क्षेत्र हो । यिनीहरु चितवन, मकवानपुर र धादिङका भूमिपुत्र र यहीँ उत्पत्ति भएको मानिन्छ । चेपाङ समुदायको चिउरीसँग अन्योन्याश्रित सम्बन्ध रहेको छ । चेपाङले चिउरीका कुनै पनि चीज खेर फाल्दैनन् । चिउरीका सबै चिज उनीहरुको दैनिकीमा प्रयोग हुने गरेको छ । पहिला चिउरीको पात खाना खान प्रयोग हुन्थ्यो भने दुनाटपरी बनाउन प्रयोग हुन्थ्यो ।

चिउरीको फूलको रस सङ्कलन गरेर खानाका रुपमा खाने चलन थियो । चिउरी फुलेका बेला रस सेवन मात्रै होइन, अलि पहिला चमेरोको सिकार खेल्ने वातावरण पनि बन्थ्यो । चिउरीको फूल फुलेका बेला चमेरो फूल खान राति आउँदा चेपाङ समुदाय फूलमा जाल थापेर चमेरो मार्थे । चमेरो आएपछि मात्रै चिउरीको फूलमा परागसेचन हुने गर्दछ । यसरी, चिउरीको पात, फूलको रस र फूलमार्फत चमेरोको शिकारसँग चेपाङ समुदायको जिन्दगी जोडिएको थियो ।

चैत, वैशाख र जेठमा चेपाङ समुदाय अहिले पनि सङ्कटमा पर्छन् । यो समय चेपाङ समुदायमा अनिकाल पर्ने समय हो । यस्तो बेला अनिकालको सञ्जीवनी बुटी नै हुने गरेको छ चेपाङ समुदायलाई चिउरी । वैशाखमा चिउरीको दाना लाग्दछ । दाना सङ्कलन गरी खानाकै रुपमा प्रयोग गर्न सकिन्छ । अनिकालका समयमा चेपाङको जीवन धान्ने बुटी चिउरी हुने गरेकाले मकवानपुर, चितवन, धादिङका चेपाङ समुदाय चमेरो र चिउरीका पर्याय नै बन्ने गरेका थिए ।

चेपाङ समुदायको सभ्यता र संस्कृतिसँग जोडिएको चिउरी बहुआयामिक जडीबुटीजन्य र औषधि पनि हो । चेपाङ समुदायको किंवदन्ती सुन्ने हो भने पहिला चिउरीको घीउ पशुपति र स्वयम्भूमा बत्ती बाल्न प्रयोग हुन्थ्यो । चेपाङहरु घीउ बोकेर नागढुङ्गा हुँदै काठमाडौँ जान्थे । विसं २०१३ मा त्रिभुवन राजमार्ग (नागढुङ्गादेखि नौबिसे) र २०२४ सालमा पृथ्वी राजमार्ग (नौबिसेदेखि मुग्लिन) खुलेपछि काठमाडौँमा घीउ बोकेर जाने चलन हराउन थाल्यो ।

चिउरी बहुउपयोगी र बहुमूल्य गुण भएको वनस्पति हो । चेपाङ समुदायमा छोरीको विवाह हुँदा चिउरीलाई पितृप्रसादका रुपमा ग्रहण गर्ने चलन छ । चिउरीले अनिकालबाट चेपाङको प्राण धान्ने भएकाले छोरीलाई विवाह गरेर पठाउँदा चिउरीको रूख दाइजोका रुपमा दिने प्रचलन पनि छ ।

चेपाङ समुदायको जनजीविका र दोस्रो पुस्ताको घरजम व्यवस्थापनमा समेत चिउरी जोडिने गरेपछि चेपाङ चिउरीलाई सङ्कटको विकल्प ठान्छन् । चिउरी उनीहरुको जिन्दगीसँग जोडिएको बहुउपयोगी बनस्पति हो । त्यसैले फागुनमा चिउरी फुलेपछि चेपाङ खुसी हुन्छन् । अनिकालमा चिउरीको फूल फुलेपछि गाउँमा चमेरो आउँछ ।

चमेरो आएपछि मात्रै चिउरीका फूलमा परागसेचन हुन्छ भने चमेरोलाई मासुका रुपम उपभोग गर्न पनि पाइन्छ । साउनसम्म चिउरीले चेपाङ समुदायको जिन्दगी धानिदिन्छ । भदौमा नयाँ बाली भित्रिन्छ । नयाँ बाली भित्र्याएर भदौ २२ गते राष्ट्रिय पर्व न्वागी (छोनाम) मनाउँदासम्म केही समय चेपाङ समुदाय चिउरीमा आश्रित हुन्छन् ।

चिउरीखेती प्रवद्र्धन

पछिल्लो समय बजारमा चिउरीको उपभोग र बिक्री बढ्न थालेपछि यसलाई व्यावसायिक रुपमा उत्पादन र खेतीका लागि वन कार्यालयहरुले प्रवद्र्धन अभियान चलाएका छन् । डिभिजन वन कार्यालय चितवन, मकवानपुर, धादिङले ओरालो र ओसिलो भूभागसँगै बलौटे माटोमा चिउरी रोप्न सकिने विकल्पसहित बिरुवा उत्पादन अभियान चलाइएको छ ।

धादिङ र मकवानपुरका भिरालो जङ्गलमा रहेको चिउरीलाई अब बारीमै पनि रोपेर १२ वर्षपछि आम्दानीका रुपमा लिन सकिने भएकाले यसको व्यावसायिक रुपमा खेतीका लागि वन कार्यालयहरुले बीउ वितरण गर्न सुरु गरेका छन् । बहुउपयोगी चिउरीलाई चेपाङ समुदायबाट अरू समुदायमा पनि जोड्न र दिगो आम्दानीका रुपमा यसलाई प्रवद्र्धन गर्न बागमती प्रदेशका डिभिजन वन कार्यालयहरुले विभिन्न जागरण अभियान चलाएका छन् ।

(लेखक पत्रकार रामकुमार एलन हुन्)



प्रतिक्रिया दिनुहोस्