Logo

रेसुङ्गामा साउने मेला सुरु



गुल्मी, १ साउन । धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला सुरु भएको छ । साउनभर सञ्चालन हुने मेलामा रेसुङ्गा क्षेत्रमा रहेको महापोखरीमा स्नान र पूजाआजाका लागि दिनहुँ श्रद्धालु भक्तजनको घुइँचो लाग्ने गर्दछ ।

रेसुङ्गा क्षेत्रमा रहेको महापोखरीमा स्नान गरेपछि चारधाम जान नपर्ने र त्यहाँ पुगेपछि पुण्य प्राप्ति हुने जनविश्वास छ । महापोखरीमा स्नान गरेपछि आफूले अञ्जानमा गरेका पाप नष्ट हुने धार्मिक विश्वास छ । महापोखरीमा स्नान गरेपछि श्रद्धालुहरु पोखरीदेखि केही माथि रहेको यज्ञशालामा पुगेर मन्दिरको दर्शन गरी पूजाआजा गर्छन् ।

यज्ञशाला मन्दिरमा अखण्डदीप प्रज्वलन भइरहने भएकाले श्रद्धालुहरुले यज्ञमण्डपको विभूति लगाउने र त्यसलाई प्रसादका रुपमा ग्रहण गर्छन् । यस उक्त क्षेत्रमा रहेका सिद्धस्थान, विष्णुपादुका, लक्ष्मीनारायण, ऋष्यशृङ्गलगायत धार्मिक क्षेत्रमा पनि भक्तजनको भीड लाग्ने गर्छ । यस क्षेत्रमा पाल्पा, स्याङ्जा, अर्घाखाँची, बाग्लुङ्, प्यूठान, रुपन्देही, नवलपरासीलगायत ठाउँबाट भक्तजन आउने गरेका छन् ।

रेसुङ्गा संरक्षण समितिले यज्ञशाला मन्दिर परिसरमा साउनभर पुराण वाचन, पाठपारायण, भजनकीर्तन, होम, श्राद्धलगायत धार्मिक कार्यक्रमहरु आयोजना गरेको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले जानकारी दिए ।

रेसुङ्गाको महापोखरी क्षेत्र र मन्दिर परिसरमा माछा, मासु एवं मादक पदार्थ सेवन तथा बिक्री वितरणमा रोक लगाएको छ । मेलालाई व्यवस्थित गर्न समितिले सदरमुकाम तम्घासबाट महापोखरीसम्मको यातायात सहज बनाउने गरी व्यवस्था मिलाएको जनाइएको छ ।

रेसुङ्गा नगरपालिकाले यस वर्ष ‘जाउँ हिँड रेसुङ्गा’ अभियान सञ्चालन गरेकाले विगत वर्षहरुको तुलनामा यस क्षेत्रमा पर्यटकका सङ्ख्या उल्लेख्य बढेको अभियानका संयोजक रामजी पन्थीले बताए ।

गुल्मीको धार्मिकस्थल कालीगण्डकी र रुद्रवेणी धाममा पनि साउने सङ्क्रान्तिका अवसरमा आज बिहानदेखि भीड लागेको छ । भक्तजनहरु नदीमा स्नान गरी पूजापाठ गर्ने बढेका छन् । कालीगण्डकी गुल्मी, पाल्पा र स्याङ्जाको सङ्गमस्थल हो । रासस



प्रतिक्रिया दिनुहोस्