Logo

‘सरकारमा सहभागी नभएपनि ओली सरकारलाई उपेन्द्र यादवको समर्थन रहने’



काठमाडौं, १ साउन । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य मनिष सुमनले कांग्रेस–एमाले गठबन्धन सरकारलाई बाहिर नै बसेर सहयोग गर्न आफ्नो पार्टी तयार रहेको बताएका छन् । आज (मंगलबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अहिले आफूहरु सरकारमा सहभागी नभएपनि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने बताएका हुन् ।

नेता सुमनले प्रधानमन्त्री ओली नेतृत्वको सरकारले संसद्मा विश्वासको मत आह्वान गर्दा जसपा नेपाल संसदीय दलले मत दिने निर्णय गर्ने दाबी गरे । उनले नेपालको संविधान हतारमा जारी गरिएको टिप्पणी गरे । उनले संविधान संशोधन अहिलेको मूल एजेण्डा रहेको बताए ।

‘हामीले यो सरकारमा जानुपर्छ, मन्त्रिपरिषद्मा हुनुपर्छ भन्ने किसिमले सोच्दैसोचेनौं । हामीले यो सरकारलाई समर्थन दिएका छौं, साथ दिएका छौं । बाहिरैबाट समर्थन गरेका छौं । विश्वासको मतका लागि आह्वान गर्दा हाम्रो संसदीय दलले विश्वासको मत दिने नै निर्णय गर्नेछ,’– उनले भने ।

उनले समानुपातिक निर्वाचन प्रणाली हटाउने, प्रदेशको संख्या घटाउनेजस्ता पक्षमा कांग्रेस–एमाले उभिएको खण्डमा आफूहरु प्रतिपक्षमा बस्ने उनले बताए । उनले समानुपातिक निर्वाचन प्रणालीलाई संघीय लोकतान्त्रिक गणतन्त्रको सुन्दरताको रुपमा ब्याख्या गरे । कसैले समानुपातिक निर्वाचन प्रणाली हटाउने र प्रदेश घटाउने सोचेको खण्डमा जसपा नेपाललाई सह्य नहुने उनको चेतावनी छ ।

काठमाडौंको केही ठालूहरुले संघीयतालाई सेतो हात्ती भनेर बदनाम गरेको उनको भनाइ छ । संघीयतालाई बलियो बनाएर प्रदेशहरुलाई अधिकार दिइएको खण्डमा यो भन्दा राम्रो व्यवस्था कुनै पनि नहुने उनको भनाइ छ । file photo



प्रतिक्रिया दिनुहोस्