Logo

प्रचण्डसँग रिसाएका उपेन्द्रको मन फेरिएन, अब समाजवादी मोर्चामा नजाने पक्का



काठमाडौं, १ साउन । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव समाजवादी मोर्चामा सहभागी नहुने भएका छन् । प्रधानमन्त्रीको जिम्मेवारीमा रहेको बेलामा आफ्नो पार्टी फुटाउने काममा स्वयम पुष्पकमल दाहाल लागेकोले अब आफ्नो पार्टी समाजवादी मोर्चामा नरहने यादवको निश्कर्ष छ ।

उनले माधव नेपाललाई आफू समाजवादी मोर्चामा नआउने जवाफ पठाएका छन् । प्रधानमन्त्रीबाट बाहिरिएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकै सक्रियतामा आज बोलाईएको समाजवादी मोर्चाको बैठकमा यादवलाई पनि सहभागी हुन भनिएको थियो । तर, यादव भने मोर्चाको बैठकमा गएनन् । उनी प्रचण्डसँग बेस्सरी रिसाएका छन् ।

उनको अझैसम्म प्रचण्डसँगको रिस मरेको छैन् । संघीय लोकतान्त्रिक गणतन्त्रको सुरुवातदेखि अहिलेसम्मको यात्रामा आफूले प्रचण्डलाई जस्तोसुकै परिस्थितिमा पनि साथ दिएको भएपनि प्रचण्डले भने आफ्नो पार्टी फुटाएर धोका दिएको यादवको निश्कर्ष छ ।

उनले प्रचण्डले प्रधानमन्त्रीको लागि संसद्मा चौथोपटक विश्वासको मत लिँदै गर्दा विपक्षमा मतदान गरे । उनले तत्कालका लागि कांग्रेस र एमालेको गठबन्धनलाई साथ दिने निर्णय लिएका छन् । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले भने उनलाई भाउ दिएका छैनन् । ओली नेतृत्वको सरकारमा जसपा, नेपालपनि सहभागी हुने चर्चा थियो ।

तर, यादवकै दलबाट विभाजन गरेर बनाईएको अशोक राई नेतृत्वको जसपालाई भने दुई वटा मन्त्रालय दिएर सरकारमा सहभागी गराईएको छ । यसले यादवलाई तत्काल सरकारमा सहभागी हुने बाटो बन्द भएको छ । सरकारमा पनि नजाने र तत्कालका लागि प्रचण्ड नेतृत्वको माओवादी सम्मिलित समाजवादी मोर्चामा पनि नजाने यादवको तयारी छ ।

उनले आफूनिकट नेताहरुसँग प्रचण्डले सत्ताबाट बाहिरिएपछि आफूहरुको साथ खोज्न थालेको भन्दै आफूले पनि तत्काल साथ नदिने भनिसकेको चर्चा छ । कतिपयले उपेन्द्र र प्रचण्डको केमेष्ट्री मिलेकोले उपेन्द्रको मन फेरिने र समाजवादी मोर्चामा जानसक्ने भनिरहेका छन् ।

तर, यादवको भने मन अहिलेसम्म फेरिएको छैन् । बरु, पार्टी विभाजन गरेर सत्ताको चास्नीमा रमाएका अशोक राईहरुसँगै सत्ता गठबन्धनको कित्तामा उभिन र संसद्मा सत्ता पक्षकै लहरमा नबोलिकन बस्न यादव बाध्य भएका छन् । file photo



प्रतिक्रिया दिनुहोस्