Logo

गुल्मी प्रशानद्वारा अशक्तलाई घरमै नागरिकता प्रदान



गुल्मी, २ साउन । गुल्मीमा अपाङ्ता भएका व्यक्तिलाई उनीहरुको घरमै पुगेर नागरिकता प्रदान गर्न थालिएको छ । अपाङ्ता भएका धुर्कोट गाउँपालिका– १ स्थित नयाँगाउँका १७ वर्षीय अन्मुल घर्तीलाई प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले उनकै घरमै पुगेर नागरिकता प्रदान गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालयले पछिल्ले समय जिल्लामा अशक्त र अपाङ्ता भएका व्यक्तिलाई घरमै पुगेर सेवा प्रवाह गर्ने अभियान सञ्चालन गरिरहेको प्रजिअ शर्माले जानकारी दिए । “हामीले हरेक पालिकामा पुग्दा त्यहाँका जनप्रतिनिधिलाई त्यस्ता प्रकाकारका अशक्त र अपाङ्ता भएका व्यक्ति भएमा जानकारी गराउनु होला, हामी घरमै आएर सेवा प्रवाह गर्छौँ भनेका छौँ,” उनले भने ।

अपाङ्ता र अशक्त भएका व्यक्तिलाई नागरिकता लिनका लागि जिल्ला प्रशासन कार्यालयसम्म आउन समस्या हुने र आर्थिक भार समेत थपिने भएकाले उनीहरुलाई कार्यालयबाट कर्मचारी घरमै पुगेर नागरिकता प्रदान गरिने व्यवस्था मिलाइएको प्रजिअ शर्माले बताए ।

अन्मुलका बुबाले छोराको समस्याको बारेमा जिल्ला प्रशासन कार्यालयमा आएर गुनासो पोखेपछि प्रजिअ शर्माले घरमै पुगेर नागरिकता दिने प्रतिबद्धता जनाएका थिए। आफुले गुनासो राखेपछि मङ्गलबार घरमै आएर छोरालाई विस्तारामै नागरिकता दिँदा आफूहरु निकै खुसी बनेको अन्मुलका बुबा ध्रुव घर्तीले बताए ।

“ यत्ति कामका लागि यो छोरालाई तम्घास लैजान ल्याउन कति समस्या हुन्थ्यो, अहिले घरमै आउनुभयो, नागरिकता दिनुभयो, हामीलाई त भगवान आएजस्तै भयो,” घर्तीले भने ।

स्वस्थ्य नै जन्मिएका अन्मुल जन्मेको चार दिनपछि कमलपित्तका कारण अपाङ्ता हुनुपरेको बताइएको छ । अपाङ्ता भएपछि अन्मुल १७ वर्षदेखि ओछ्यानमै छन् । उनी बोल्न र केही गर्न सक्दैनन् ।

उनको हेरचार र स्याहार सुसारका लागि परिवारलाई नियमित रुपमा खटिरहनुपर्ने बाध्यता छ । ध्रुवको तीन सन्तानमध्य उनी माइलो सन्तान हुन । बृद्ध हुनलागेका बाबुआमा यतिबेला त्यही छोरालाई हेर्दैै आफ्नो जीवन कटाइ रहेका छन् ।

जिल्ला प्रशासन कार्यालयले यसअघि पनि जिल्लाको रेसुङ्गा, मुसिकोट, ईस्मा लगायतका पालिकाहरुमा पुगेर यस्तै प्रकारको सेवा प्रदान गरेको थियो । प्रशासनले जिल्लामा विपद् प्रभावितलाई परिवारहरुलाई पनि घरमै पुगेर राहत उपलब्ध गराउने व्यवस्था मिलाएको प्रजिअ शर्माले बताए । रासस



प्रतिक्रिया दिनुहोस्