लमजुङ, २ साउन । लमजुङको क्व्होलासोथर गाउँपालिका–९ गिलुङ निवासी पृथ्वीसुब्बा गुरुङले सञ्चार तथा सूचना प्रविधिमन्त्रीको जिम्मेवारी सम्हालेपछि जिल्लावासी हर्षित बनेका छन् । उनीहरुले मन्त्री गुरुङको सफल कार्यकालको कामना गरेका छन् ।
सङ्घीयता कार्यान्वयनसँगै उनी २०७४ फागुन ४ देखि २०७८ जेठ २७ गतेसम्म गण्डकी प्रदेशको मुख्यमन्त्री भएका थिए । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव गुरुङ १७ वर्षपछि पुनः सङ्घीय सरकारको महत्वपूर्ण जिम्मेवारीमा पुगेका छन् ।
उनले प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा २०६४ चैत १८ देखि २०६५ साउनसम्म संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको जिम्मेवारी निर्वाह गरेका थिए। उनी विसं २०७४ को प्रदेशसभा सदस्य निर्वाचनमा लमजुङ प्रदेश (ख) बाट निर्वाचित भएका थिए । सो अघि विसंं २०७० को प्रतिनिधिसभा निर्वाचनमा भने पराजित भएका थिए ।
प्रतिनिधिसभा निर्वाचन २०७९ मा तत्कालीन नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायत राजनीतिक दलको गठबन्धनका उम्मेदवार देवप्रसाद गुरुङलाई तीन हजार एक सय ८८ मत अन्तरले हराएर निर्वाचित भएका उनी २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा लमजुङ क्षेत्र नं २ बाट १९ हजार पाँचसय दुई मतकासाथ विजयी भएका थिए । पिता गङ्गाप्रसाद र माता चिनी गुरुङका कोखबाट २०१४ फागुन १ गते लमजुङमा जन्मिएका पृथ्वीसुब्बा २०३४ देखि राजनीतिमा क्रियाशील छन् ।
काठमाडौँस्थित अमृत साइन्स क्याम्पसबाट २०३४ सालमा स्नातकोपाधि हासिल गरेपछि आफ्नै गाउँ गिलुङमा रहेको हालको बुद्धोदय माध्यमिक विद्यालयमा उनले सात वर्ष प्रधानाध्यापकका रुपमा शैक्षिक उन्नयनका निम्ति सेवा गरेका थिए ।
विसंं २०४८ फागुन ९–१० को प्रथम जिल्ला अधिवेशनबाट एमाले जिल्ला कमिटी सचिवमा निर्वाचित हुँदै विसं २०५४ माघ ९–१४ मा नेपालगञ्जमा सम्पन्न पार्टीको छैटौँ महाधिवेशनबाट एमाले केन्द्रीय कमिटीको वैकल्पिक सदस्यमा निर्वाचित भए । विसं २०५४ देखि २०५९ सम्म गण्डकी अञ्चल समन्वय कमिटीको सचिव भई जिम्मेवारी समालेका गुरुङले विसंं २०६० मा एमाले केन्द्रीय कमिटी सदस्यमा मनोनीत भए ।
त्यस्तै, २०६१ देखि २०७० सम्म केन्द्रीय जातीय मामिला विभाग प्रमुखको जिम्मेवारी प्राप्त गरे भने २०६१ देखि २०७० सम्म आदिवासी–जनजाति विभाग इञ्चार्जका रूपमा काम गरे । विसं २०६५ मा बुटवलमा सम्पन्न आठौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्यमा निर्वाचित तथा २०६५ मा पार्टी पोलिटब्यूरो सदस्यमा निर्वाचित भयो ।
विसं २०६९ देखि २०७१ सम्म केन्द्रीय कार्यालयको सचिवको जिम्मेवारीमा समेत रहे । विसं २०७१ मा सम्पन्न पार्टीको नवौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटीको सचिवमा निर्वाचित तथा विसं २०७२ देखि पार्टीको केन्द्रीय सङ्गठन विभाग प्रमुखको जिम्मेवारीमा समाल्दै विसंं २०७५ नेकपाकालमा स्थायी कमिटी सदस्य नेकपा गण्डकी प्रदेश इन्चार्ज तथा २०७८ मङ्सिर १०–१४ मा सम्पन्न पार्टीको दशौं महाधिवेशनबाट उपमहासचिवमा निर्वाचित भए । उनले पार्टीको प्रचार विभाग प्रमुखको जिम्मेवारी समेत निर्वाह गरिसकेका छन्।
आफ्नो जीवनको करिब पाँच दशक राष्ट्र र जनताको सेवामा समर्पण गरेका मन्त्री गुरुङ सङ्घीयता, आदिवासी जनजाति आन्दोलन र जनताको बहुदलीय जनवादको प्रखर वक्ताका रूपमा परिचित छन् । रासस