Logo

राष्ट्रपति बाइडेनलाई माथिल्लो श्वासप्रश्वास नलीमा हल्का समस्या



वासिङ्टन, ४ साउन । अमेरिकी राष्ट्रपति जो बाइडेनले कोभिड–१९ सङ्क्रमणसँग सम्बन्धित ‘माथिल्लो श्वासप्रश्वास नलीमा हल्का समस्याको’ अनुभव गरेको र चिकित्सकको सल्लाहमा ‘प्याक्सलोभिड’ को मात्रा दिइएको ह्वाइट हाउसले जनाएको छ ।

बाइडेनका चिकित्सक डा. केभिन ओ कनरले अमेरिकी राष्ट्रपतिलाई ज्वरो नआएको र सङ्क्रमणसँग सम्बन्धित अन्य लक्षणहरू पनि सामान्य रहेको बताएका छन् ।

डा. केभिन ओ कनरले भने, “राष्ट्रपतिले कोभिड–१९ सङ्क्रमणका कारण माथिल्लो श्वासप्रश्वास नलीमा हल्का समस्या अनुभव गरिरहनुभएको छ । उहाँलाई ‘प्याक्सलोभिड’ दिइराखेका छौँ । उहाँलाई ज्वरो आएको छैन र अन्य मुख्य लक्षणहरू सामान्य छन् ।”

“राष्ट्रपतिको अनुमति लिएर उहाँको बारेमा मैले पहिलेजस्तै नियमित जानकारीहरू सार्वजनिक गरिरहनेछु,” उनले बताए ।

ह्वाइट हाउसले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “राष्ट्रपति बाइडेन डेलावेयर फर्केर आइसोलेसनमा बस्नुहुनेछ । त्यस समयमा उहाँका सबै जिम्मेवारीहरू पूर्ण रूपमा सम्हाल्ने कार्यलाई जारी राख्नुहुनेछ ।”

लस भेगासमा आयोजित राष्ट्रिय सम्मेलनमा भाग लिएको एकदिन पछि ८१ वर्षीय राष्ट्रपति बाइडेनमा बुधबार कोभिड–१९ सङ्क्रमण देखिएको हो ।

सकारात्मक परीक्षणपछि, बाइडेनले एक्स गरेको पोस्टमा भनेका छन्, “मलाई कोरोना सङ्क्रमण देखाएको छ तर म ठिक छु । स्वास्थ्य लाभको शुभकामनाका लागि सबैप्रति आभारी छु । सबैलाई धन्यवाद दिन चाहन्छु।”

“म निको नहुँदासम्म आइसोलेसनमा हुनेछु र यस अवधिमा म अमेरिकी जनताप्रतिको मेरो कर्तव्यलाई निरन्तरता दिनेछु”, वक्तव्यमा भनिएको छ ।

राष्ट्रपतिका निजी चिकित्सकले बाइडेनमा सामान्यरुघाखोकी र माथिल्लो श्वासप्रश्वास नलीमा समस्याका लक्षणहरू रहेको बताएका छन् ।

यसअघि सन् २०२२ को जुलाईमा बाइडेन पहिलोपटक कोभिड सङ्क्रमित भएका थिए । रासस



प्रतिक्रिया दिनुहोस्