Logo

पुनःप्रदर्शनको तयारीमा ‘बुलाकी’



काठमाडौँ, ४ साउन । विसं २०८० वैशाख १ मा प्रदर्शन भएको चलचित्र ‘बुलाकी’ यही साउन ३२ गतेदेखि पुनःप्रदर्शन हुने भएको छ । तात्कालिन समयमा चलचित्र भवनले शो बाँडफाँडमा विभेद गरेको भन्दै निर्माता विराज विष्टले चलचित्रको प्रदर्शन रोकेको थियो ।

नेपाल चलचित्रको निर्माणमा डिजिटल युगको सुरुआत भएसँगै प्रदर्शनमा सहजता भएको छ । चलचित्र प्रदर्शनका लागि प्रिन्ट बोकेर चलचित्र भवन पुग्नुपर्ने युगको अन्त्य भएसँगै नेपाल मात्र नभई विश्वभर प्रदर्शनका लागि सहजता भएको छ । सोही कारण पनि पछिल्लो समय पुनःप्रदर्शन हुने चलचित्र सङ्ख्या बढ्दो देखिन्छ ।

यसैवर्ष गत असार ७ गते ‘आचार्य’ पुनःप्रदर्शन गरियो । स्वर्गीय गायक भजन शिरोमणी भक्तराज आचार्यको जीवनमा आधारित चलचित्र व्यावसायिकरुपमा सफल हुन नसके पनि पुनःप्रदर्शनका लागि परिक्षण गर्न निर्माता अझैँ सक्रिय छन् ।

“हाम्रो चलचित्रलाई प्रदर्शन सहजतामा कठिनाई भएको थियो । सोही कारण पुनःप्रदर्शन गर्ने तयारीमा थियौँ । वितरक र प्रदर्शकसँग सल्लाह गरेर यो समय उचित लागेपछि पुनःप्रदर्शनका लागि तयारी थालेका छौँ”, निर्माता विष्टले भने । उनले चलचित्र पुनःसम्पादन गरी प्रदर्शन गरिने जानकारी दिए ।

निर्माता विष्टले यसलाई नयाँ चलचित्र झैँ दर्शकसम्म पु¥याउने तयारी गरिएको बताए । चलचित्रमा सुरक्षा पन्त, नरेन खड्का, विराज विष्ट, सरस्वती खत्री, लक्ष्मी गिरी, सुशील पोखरेल, रमेश बुढाथोकी, कुलद्विप अधिकारी, झलनाथ खत्री, उपसना नेम्वाङ, लक्ष्मण देवकोटा, विनयराज पौडेल, सोनु सेढाइलगायत कलाकारले अभिनय गरेका छन्।

प्रदर्शनका लागि चलचित्र वितरण गर्नु हुने वितरक करण श्रेष्ठले नयाँ वा पूरानो जुनै चलचित्रले पनि आफ्नो जानकारी दर्शकसम्म पुर्याउनु पर्ने बताए । “दर्शकलाई आकर्षित गर्न निर्माण पक्षले मेहनत गर्नुपर्छ । प्रचारप्रसारसँगै नयाँ विधी अपनाएर चलचित्रको बारेमा जानकारी दिनु आवश्यक छ । अहिले चलचित्र हेर्ने ओटीटीजस्ता अन्य माध्यमको पनि विकास भइरहेको छ”, उनले भने ।

कोरोना महामारीका कारण भएको बान्दाबन्दी पश्चात् ‘कठपुतली’, ‘चपली हाइट–३’, ‘विहे पास’लगायत चलचित्र पुनःप्रदर्शन भइसकेका छन् । रासस



प्रतिक्रिया दिनुहोस्