Logo

भोलि बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन एमाले सांसदलाई ह्विप



काठमाडौं, साउन ५ । नेकपा (एमाले)ले भोलि बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरूमा ह्विप जारी गरेको छ । भोलिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भएकोले एमालेले आफ्ना सांसदहरुलाई ह्विप जारी गरेको हो ।

प्रधानमन्त्री ओलीलाई संसद्को सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले विश्वासको मत दिने भएकोले बहुमत जुटाउन सकस छैन । यद्यपि ओलीले दुई तिहाइ समर्थन जुटाउने लक्ष्यका साथ साना दलहरूसँग पनि विश्वासको मत मागिरहेका छन् ।

प्रधानमन्त्री ओलीलाई तीन विपक्षी दलले विश्वासको मतको विपक्षमा मत दिने निर्णय गरेका छन् । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बैठकले उक्त निर्णय गरेको हो । नयाँ सरकार ७६ (३) अनुसार गठन हुनुपर्नेमा ७६ (२) मा पुनः सरकार बन्नु असंवैधानिक हो भन्ने विपक्षी दलको ठम्याई छ । २७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ मत चाहिन्छ ।



प्रतिक्रिया दिनुहोस्