Logo

हराउँदै गएको विद्वत् पूजा परम्परा



काठमाडौँ, ६ (रासस) । इतिहासको खोज र लेखनमा आजीवन आफूलाई समर्पित गरेका साधक ज्ञानमणि नेपालले ९२ वर्षको उमेरमा भौतिक देह त्याग गरेको धेरै समय भएको छैन । उनको साधनाबाट तीन दर्जनभन्दा बढी इतिहासका महत्वपूर्ण ग्रन्थहरु नेपाली समाजले प्राप्त गर्नु सामान्य उपलब्धि होइन । नेपाल देशको नाम कसरी नेपाल रहन पुग्यो भन्ने विषयको जिज्ञासा मेट्न उनले लेखेको “नेपाल निरुक्त” र “नेपालनिरुपण” पढे पुग्छ ।

इतिहासमा लामो कालखण्ड नेपाली राजनीतिको केन्द्रको रुपमा रहेको राजदरबारभित्र हुने गरेका षडयन्त्र, काटमार र खतरनाक खेलचुक्लीले देश कहाँ पुग्यो भन्नेबारे जिज्ञासा मेट्न उनको “नेपालको महाभारत” पढे पुग्छ । यस्ता महत्त्वपूर्ण इतिहासका ग्रन्थहरु देशका लागि समर्पण गरेर भौतिक रुपमा यो संसारसँग विदा माग्ने बेलामा पनि उनको सक्रिय चेतनाले नेपालको इतिहाससम्बन्धी चिन्ता ब्यक्त गरिरहेको उनीसँग भेट गर्न जानेहरुको अनुभव पढ्दा र सुन्दा थाहा हुन्छ ।

तर एउटा दुःखको कुरा के भने यतिका वर्ष इतिहासकार ज्ञानमणि नेपालले देशको इतिहास अन्वेषण र लेखनमा आफूलाई समर्पण गरे तापनि उनलाई राष्ट्रिय स्तरका पुरस्कार र सम्मान मिलेको खबर सुन्ने, हेर्ने र पढ्ने अवसर पाइएन । उनको छाँतीमा तक्मा सजिएको पनि देख्न पाइएन । यस अर्थमा ज्ञानमणि नेपालले देशका लागि जे जति दिए, बरु जीवनमा केही नलिई गए । सायद गीताको निष्फल कर्मप्रति उनलाई विश्वास थियो, त्यसैले यसबारे उनले कतै कहीँ गुनासो गरी लेखेको वा अन्तर्वार्ता दिएको पढ्न, हेर्न र सुन्न पाइएको छैन ।

ज्ञानमणि नेपालजस्ता सच्चा साधकले पुरस्कार वा सम्मान मागेर हिड्न पनि सुहाउने कुरा पनि भएन । यो त पुरस्कार तथा सम्मानका संस्थापक र ब्यवस्थापकहरु स्वयम्ले मूल्याङ्कन गर्ने पक्ष हो । तर इतिहासकार नेपालको जीवनभर उनको पक्षमा यस्तो मूल्याङ्न भएको देखिएन । अर्का इतिहासकार दिनेशराज पन्तका शब्दमा इतिहासकार नेपाल मुर्खमण्डलीको घेराबन्दीमा परे । मुर्खमण्डलीले इतिहासकार नेपालको योगदानको बारेमा सोधीखोजी गर्न आवश्यक नै ठानेन ।

हराउँदैछ विद्वत पूजा परम्परा

राजा जनक यस्ता राजा थिए, जसको दरबारमा विद्वानहरुको नियमित जमघट हुन्थ्यो, शास्त्रार्थ चल्थ्यो । शास्त्रमा ठूलो विश्वास थियो, राजा जनकमा । राजा जनककै समयमा एउटा अत्यन्तै तीक्ष्ण दिमागका किशोर थिए । उनको शरिर आठ ठाउँमा बाङ्गिएकाले उनको नाम नै अष्टाबक्र थियो । शरिर अनाकर्षक र कुरुप भए पनि अष्टाबक्र साधनाले खारिएको दार्शनिक र शास्त्रज्ञानी थिए ।

एक दिन राजा जनक घुम्न निस्किएका थिए । उनले बाटामा ऋषि भेषधारण गरेका एक ब्यक्तिलाई देखे । उनी तत्कालै घोडाबाट ओर्ले, र ऋषिलाई प्रणाम गरे । तर ऋषिको अत्यन्तै अनौठो र अनाकर्षक शरिर देखेर राजा जनक तीनछक्क परे । अष्टाबक्रले थाहा पाइहाले कि, राजा जनकले आफ्नो शरिर देखेर आफूप्रति घृणाको धारणा बनाइरहेछन् । त्यसपछि उनले राजा जनकलाई भने,“हे, राजन् ! कुनै पनि मन्दिर टेढो भएर त्यो माथिको आकास टेढो हुँदैन । कुनै पनि मन्दिर गोलो वा लाम्चो हुँदैमा आकास पनि गोलो वा लाम्चो हुने होइन । किनकी आकासको मन्दिरसँग कुनै सम्बन्ध हुँदैन । आकास मन्दिरजस्तो आकारयुक्त हँुदैन, निराकार हुन्छ । त्यस्तै आत्मा पनि निराकार हुन्छ । आत्मा आकासजस्तै निराकार भएकैले नित्य हुन्छ, तर शरिर अनित्य हुन्छ । शरिरको बाङ्गोटिङ्गो आकार आत्मामा आउन सक्दैन । त्यसैले हे, राजन् ! ज्ञानीहरुसँग आत्मदृष्टि रहन्छ भने अज्ञानीसँग केवल चर्मदृष्टि रहन्छ । चर्मदृष्टि त्यागेर आत्मदृष्टि ग्रहण गरी जब हेरिन्छ, तब चित्तबाट घृणा दूर भएर जान्छ । चर्मदृष्टिबाट त अज्ञानीले मात्रै हेर्छ, ज्ञानीहरुले चाहिँ आत्मदृष्टिबाट हेर्छ ।”

अष्टाबक्रको यस्तो विद्वत वाणीले राजा जनक तत्काल पग्लिहाले । उनले अष्टाबक्रलाई आफ्नो दरबारमा आउन निम्तो दिए । आफ्नो दरबारमा सम्मानजनक आसनमा बसाई राजा जनकले अष्टाबक्रसँग अनेकौँ जिज्ञासाहरु राखे । उनै राजा जनकको प्रश्न र अष्टाबक्राको उत्तरले कालान्तरमा “अष्टाबक्र गीता”को जन्म भयो । यसलाई पूर्वीय दर्शनमा महत्त्वपूर्ण ग्रन्थ मानिन्छ । उनै अष्टाबक्रजस्ता विद्वत प्रतिभाहरुको कदर गर्ने भएकाले राजा जनकको नाम आज पनि श्रद्धाका साथ लिइन्छ ।

हाम्रो देशमा विद्वानहरुसँग नजिक हुने, उनीहरुसँग जिज्ञासा राख्ने र उनीहरुबाट ज्ञान र दर्शनहरु सङ्ग्रह गर्ने परम्परा क्रमशः हराउँदै जान थालेको छ । त्यसमाथि पनि ज्ञानमणि नेपालजस्ता विद्वत इतिहासकारहरुले बडो मेहनत गरेर तयार पारिदिएका ग्रन्थहरु पढ्ने, त्यसको विश्लेषण गर्ने र पाठ सिक्ने परम्परा अब एकादेशको कथाजस्तै हुन पुगेको छ । यस्तो परम्परा कायम रहे देशमा मुर्ख वा तजबिजी पुस्ताको मात्रै जन्म हुनेछ । विद्वत् पूजा परम्परा हराउँदै जाँदा बौद्धिक जगत पाखा पर्दै जानेछन् । देश र समाजलाई मार्गदर्शन गर्ने पक्ष पाखा पर्दै जाने क्रम जारी रहे देश कहाँ पुग्ला ?

विद्वत् पूजाको दूर्लभ अभियान

एक जना अभियन्ता छन्, जो लामो समयदेखि विद्वत पूजा अभियानमा एक्लै जस्ता छन् । उनी हुन्, शेषराज शिवाकोटी । लामो समय न्यायसेवामा समर्पित उनी हाल सेवानिवृत्त छन् । उनी विद्वत पूजालाई नै आफ्नो धर्म र कर्म ठान्दै स्वयम्सेवा गरिरहेछन्, लामो समयदेखि । शिवाकोटी बेलाबेलामा विद्वत ब्यक्तित्वहरुको सम्मान गर्छन् र उनीहरुलाई केवल ताम्रपत्र र दोसल्लाले सम्मान गरेर औपचारिकता मात्र निर्वाह गर्दैनन्, सम्मानीत प्रतिभाको अभिनन्दन ग्रन्थ नै प्रकाशित गर्छन् । एकै व्यक्तिको अभिनन्दन ग्रन्थको सङ्ख्या धेरै पनि हुनसक्छ । उदाहरणका लागि, एकै जना विद्वान नयराज पन्तको विषयमा उनले ३० अङ्क अभिनन्दन ग्रन्थ प्रकाशित गरेका छन् । जीवित हुँदा १० र निधनपछि २० अङ्क अभिनन्दन ग्रन्थ प्रकाशित भए । यस्तै रोचक घिमिरेबारे १० र धनबज्र बज्राचार्यबारे नौ अङ्कसम्म अभिनन्दन ग्रन्थ प्रकाशित गरेर विद्वत पूजा परम्परालाई धानेका उनले प्रकाश दर्नालसम्म आइपुग्दा अभिनन्दन ग्रन्थ प्रकाशन हुने “ज्ञानगुन”ले दुई सय २४ अङ्क पार गरिसकेको छ ।

नारायणगोपाल र पारिजातको निधनपछि यस्ता स्मृति र अभिनन्दन ग्रन्थ प्रकाशनमा ल्याउने चलन चलाएका उनले जीवित ब्यक्तित्त्वहरुको पनि अभिनन्दन ग्रन्थ प्रकाशित गर्न पर्छ भन्ने मान्यताका साथ प्रशिद्ध हास्यब्यङ्ग्यकार बासुदेव लुइँटेलबाट यस्तो चलन सुरु गरे । हालै भौतिक रुपमा यो संसारबाट टाढा हुन पुगेका इतिहासकार ज्ञानमणि नेपालका बारेमा पनि तीनवटा अभिनन्दन ग्रन्थ शिवाकोटीले प्रकाशनमा ल्याए । शिवाकोटीले २०७९ माघ २७ गते श्रीपञ्चमीमा “ज्ञानगुन”को दुई सय ११ औं अङ्कलाई इतिहासकार नेपालको औँ शुभजन्मोत्सव अङ्कका रुपमा प्रकाशित गरेर नेपालको ९१ औँ जन्म दिनलाई भब्यता प्रदान गरेका थिए ।

यसरी विद्वानहरुको पूजा परम्परा कायम राख्दा शिवाकोटीले ब्यहोर्नु परेको अवस्थाको बान्की पनि अचम्मको छ । कुनै बेला नयराज पन्तको स्मृतिमा कार्यक्रम आयोजना गर्दा एउटा सानो कोठामा आफूसहित सात जना मात्रै भेला हुनु परेको पनि शिवाकोटीका लागि बिर्सिनसक्नुको घटना हुन पुगेको छ । हुन त असल मानिसहरुको सानो जमात् मुर्खमण्डलीको ठूलो भीडभन्दा कैयौँ गुणा उत्तम हुन्छ । मुर्खको उपदेशभन्दा विद्वानको गाली महिमायोग्य र उपयोगी हुन्छ । सिद्धार्थ गौतम जब ज्ञान प्राप्त गरेपछि बुद्ध बने, त्यसबेला उनको उपदेश सुन्ने केवल चार जना मात्रै थिए । तिनै चार जना बुद्धको सन्देश बोकेर चारैतिर फैलदा बुद्धका अनुयायीहरु प्रशस्तै जन्मिए । विद्वत् पूजा परम्परा धानिरहेका शिवाकोटीजस्ता दुर्लभ अभियन्ताहरुलाई पनि राज्य र समाजले चिन्न आवश्यक छ ।

केका लागि विद्वत् पूजा ?

समाजका घटनालाई सुक्ष्मतम दृष्टिकोणले अध्ययन गर्ने र अनुभवहरुलाई समेत निफनेर घटनाका कारणहरु पत्ता लगाउने काम समाज विज्ञानका विद्वानहरुले गर्ने गर्छन् । समाजका घटना र अनुभवहरुको अध्ययन र विश्लेषणबाटै सामाजिक दर्शन र सिद्धान्तहरुको प्रतिपादन हुन्छ । यसका लागि विशेष धैर्यता, बुद्धि र मेहनत आवश्यक हुन्छ । साधनाबिना यस्ता कठिन काम सम्पन्न हुन सक्दैन । मानिसले एउटै दर्शन वा सिद्धान्त प्रतिपादन गर्न पनि सम्पूर्ण जीवन समर्पण गरेको उदाहरण प्रशस्तै पाउँछौँ ।

विद्वत् वर्गबाट प्रतिपादित दर्शन वा सिद्धान्तले समाज र राज्यलाई उचित दृष्टि दिन्छ । यसले शान्ति, प्रगति, उन्नति र भातृत्वको विकासमा सयोग पुर्‍याउँछ । त्यसैले विद्वत् वर्गबाट राज्य र समाज ऋणी हुन्छ । त्यहीँ ऋण चुक्ता गर्न पनि विद्वत पूजा परम्पराको आवश्यकता हुन्छ । जुन देशमा विद्वत पूजा हुन्छ, त्यो देश जहिल्यै प्रगतिपथमा लम्केको हुन्छ । इतिहासकार ज्ञानमणि नेपालले आफ्नो बुद्धि र साधनाले देश र समाजलाई ऋण बोकाएर गएका छन् । (लेखक पत्रकार राजकुमार दिक्पाल हुन्)



प्रतिक्रिया दिनुहोस्