काठमाडौं, साउन ७ । राप्रपा केन्द्रीय सदस्य एवं पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ रतनपुरस्थित आफ्नै घरमा सुतिरहेको अवस्थामा गएराति उनको टाउकोको बायाँ भागमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो ।
८० वर्षीय रायको हत्याको कारणबारे खुल्न सकेको छैन् । अहिले घटनास्थलमा तालिम प्राप्त कुकुर समेत परिचालन गरी घटनाबारे अनुसन्धान सुरु भएको सर्लाही प्रहरी प्रवक्ता डिएसपी श्रेष्ठले जानकारी दिए । पूर्वराज्यमन्त्री राय राप्रपाबाट निर्वाचित सांसद थिए । उनी २०५० सालमा भूमिव्यवस्था राज्यमन्त्री भएका थिए ।