Logo

वीरगञ्जको आन्तरिक राजस्व खस्कियो, एक वर्षमा ६ अर्ब ८६ करोड मात्र संकलन



पर्सा, साउन ७ । आन्तरिक राजस्व कार्यालय वीरगञ्जले गत आर्थिक वर्ष २०८०/८१ मा ६ अर्ब ८६ करोड ८६ लाख ७८ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले आव २०७९/८० को तुलनामा आव २०८०/८१ मा २७ करोड १५ लाख कम राजस्व सङ्कलन गरेको हो ।

आन्तरिक राजस्व कार्यालय वीरगञ्जका प्रमुख कर अधिकृत ढाकाराम तिवारीले कार्यालयले गत आवभरिमा सबै शीर्षकमा ६ अर्ब ८६ करोड ८६ लाख ७८ हजार राजस्व सङ्कलन गरेको बताए ।

‘गत आवको वर्षभरिमा मूल्य अभिवृद्धि कर सङ्कलन र आयकर सङ्कलन उत्साहजनक देखिएको छ’, उनले भने, ‘गत आवमा अन्तःशुल्क करवापतको राजस्व असुलीमा धेरै गिरावट आएको छ । यसले समग्र राजस्व सङ्कलनमा असर पारेको छ ।’

आन्तरिक राजस्व विभागले गत आवमा कार्यालयका लागि ९ अर्ब ४१ करोड ९७ लाख ९३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । कार्यालयले गत आवमा आयकरतर्फ २ अर्ब २६ करोड ७५ लाख ५४ हजार सङ्कलन गरेको छ ।

मूल्य अभिवृद्धिकरतर्फ २ अर्ब २० करोड २५ लाख चार हजार सङ्कलन गरेको छ । सोही अवधिमा अन्तःशुल्कतर्फ ४ अर्ब २० करोड २५ लाख ३६ हजार सङ्कलन गर्ने लक्ष्य राखिएको थियो । तर, गत आवमा हिमालयन डिष्ट्रिलरीको उत्पादन घटेसँगै अन्तःशुल्कबापतको रकममा प्रत्यक्ष प्रभावित भएको देखिन्छ । कार्यालयले अन्तःशुल्कबापत २ अर्ब ३९ करोड ८६ लाख २० हजार रुपैयाँ सङ्कलन गरेको छ ।

प्रमुख कर अधिकृत तिवारीले राजस्व सङ्कलन बढाउन नियमित रूपमा बजार अनुगमन र कर सचेतनालगायत कार्यक्रम अघि बढाउँदै आइरहेको बताए । आन्तरिक राजस्व विभागले आव २०७९/८० मा कार्यालयलाई १० अर्ब ६२ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेकामा सो अवधिमा भने ७ अर्ब १४ करोड रुपैयाँ सङ्कलन गरेको थियो । कार्यालयले विशेषगरी आयकर, भाडाकर, ब्याजकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क र स्वास्थ्य कर असुली गर्ने गर्छ । रासस



प्रतिक्रिया दिनुहोस्