काठमाडौं, ७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले बलियो सचिवालय टिम बनाएका छन् । प्रमुख राजनीतिक सल्लाहकारदेखि आर्थिक सल्लाहकारसमेत नियुक्त भैसकेका छन् । प्रमुख राजनीतिक सल्लाहकारमा पार्टीका उपमहासचिव विष्णु रिमाल र आर्थिक सल्लाहकारमा पूर्व अर्थमन्त्रीसमेत रहेका डा. युवराज खतिवडा नियुक्त भएका छन् ।
दुवै जना प्रधानमन्त्री ओलीसँग निकट भएर काम गर्ने नेताको रुपमा परिचित छन् । उता, प्रमुख स्वकिय सचिवमा राजेश बज्राचार्य छन् । लामो समयदेखि ओलीको सचिवालयमा बसेर काम गरेका राजेश पार्टीभित्र सबैले मन पराउने युवा नेताको रुपमा चिनिन्छन् । प्रधानमन्त्री ओलीको स्वकिय सचिवको भूमिकामा दीपेन्द्र दाहाल छन् ।
उनीपनि लामो समयदेखि ओलीको सचिवालयमा रहेर सक्रिय थिए । एमाले पँक्तिभित्र अत्यन्तै मिलनसार र अध्ययनशील युवा नेताको छवि बनाएका दाहाल यतिवेला बिहान सबेरैदेखि राति अबेरसम्म प्रधानमन्त्री ओलीको सचिवालयमा सक्रिय हुने गरेका छन् ।
उनी लो–प्रोफाईलमा बसेर काम गर्न रुचाउने नेताको रूपमा पनि परिचित छन् । प्रधानमन्त्री ओलीलाई सफल बनाउने एकसूत्रीय एजेण्डासहित सचिवालयमा सक्रिय दाहाल बालुवाटारदेखि सिंहदरबारसम्म उत्तिकै आफ्नो भूमिकामा खरो उत्रिने गरेका छन् ।