Logo

‘स्रोत साधनको अभावमा संविधानमा लेखिएका कुरा लागू हुन सकेनन्’




काठमाडौँ, ७ साउन । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले स्रोत साधनको अभावका कारण संविधानमा लेखिएका कुरा लागू हुन नसकेको बताए ।

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला स्मृति दिवसका अवसरमा सहिद स्मृति प्रतिष्ठानले आज आयोजना गरेको ‘वर्तमान संविधान र समाजवाद उन्मुख लोकतन्त्र’ विषयक विचार गोष्ठी एवं ‘श्रमिक विमर्श’ पुस्तक विमोचन कार्यक्रममा उनले स्रोत साधनको कमीका कारण संविधानमा उल्लेख भएका कुरा लागू गर्न नसकिएको बताए ।

उनले भने, “स्रोत साधनको कमीले संविधानमा लेखिएका र बोलिएका कुरा लागू गर्न सकिँदैन, अनि जनताको नजरमा हामी ‘फेलिएर’ हुन्छौँ ।” उनले वर्तमान संविधानको मर्म र भावनालाई नखुम्च्याई, कमजोर नगरीकन संशोधन र सुधार गर्न सकिने दाबीसमेत गरे ।

उनले भने, “संविधान संशोधनका नाममा समावेशितामा कुनै सम्झौता हुँदैन, संशोधनमार्फत समावेशिताको अधिकारलाई अझै सुनिश्चित गरिने छ ।” उनले समावेशिता सुनिश्चित गर्ने अझ राम्रा उपाय रहेको उल्लेख गर्दै समावेशितालाई कटौती गर्ने नभई हरेक वर्ग, समूहका व्यक्तिलाई प्रत्यक्ष रुपमा जनतामा गएर निर्वाचित भई आउने व्यवस्था गरिने जिकिर गरे ।

उनले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र कांग्रेससँगको सत्ता सहकार्य जटिल र आवश्यक रहेको बताए। उनले भने, “अहिले एमालेसँग मिलेर हाम्रो सरकार बनेको छ, हामी प्रतिस्पर्धी पार्टी पनि हौँ, त्यस अर्थमा हाम्रो सम्बन्ध एवं सहकार्य जटिल पनि छ, तर परिस्थितिले यो आवश्यक बनिरहेको छ ।”



प्रतिक्रिया दिनुहोस्