Logo

काठमाडौंमा पोलियो भाइरस पुष्टि भएपछि आजदेखि पोलियोविरुद्ध खोप अभियान



काठमाडौं, साउन ९ । काठमाडौंमा पोलियो भाइरस पुष्टि भएपछि सरकारले उपत्यकाका तीन जिल्लामा आजदेखि शनिबारसम्म पोलियोविरुद्धको विशेष खोप अभियान सञ्चालन हुँदैछ ।

काठमाडौंको टुकुचा खोला र बागमती नदीको सङ्गमस्थलबाट गत जेठ १३ गते सङ्कलन गरिएको ढलको पानी परीक्षण गर्दा परिवर्तित पोलियो भाइरस (भ्याक्सिन डिराइभ्ड पोलियो भाइरस टाइप ३) देखा परेको थियो । पोलियो भाइरस पुष्टि भएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकाका तीन जिल्लामा विशेष पोलियो खोप अभियान सुरु गर्न लागेको हो ।

डा. विवेककुमार लालले पोलियो खोप अभियानमा काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाका जन्मेदेखि पाँच वर्षमुनिका सम्पूर्ण बालबालिकालाई खोप लगाइने बताए। उनले नियमित खोपमा पोलियो खोप दिइएको भए पनि विशेष अभियानमा आफ्ना बालबालिकालाई अनिवार्य रूपमा पोलियोविरुद्धको खोप लगाउनुपर्ने बताए ।

स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा, खोप शाखा प्रमुख डा. अभियान गौतमले काठमाडौँ, भक्तपुर र ललितपुरका जन्मिएदेखि पाँच वर्षसम्मका बालबालिकालाई घरमा गएर पोलियोविरुद्धको खोप दिइने जानकारी गराए । साउन ९ देखि १२ गतेसम्म पोलियोविरुद्ध खोप अभियान सञ्चालन गर्ने भएकाले पाँच वर्षसम्मका सबै बालबालिकालाई खोप लगाउन खोप केन्द्रमा लैजानुपर्ने बताए। विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई १० वर्षअघि नै पोलियोमुक्त घोषणा गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्