Logo

दुई ठूला क्यासिनोको इजाजत खारेज, एक अर्ब ३३ करोड रुपैयाँ राजस्व सङ्कलन



काठमाडौं, साउन ९। देशभर सञ्चालनमा रहेका २१ वटा क्यासिनोबाट सरकारले एक अर्ब ३३ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

पर्यटन विभागका अनुसार आर्थिक वर्ष २०८०/८१ मा आठ वटा ठुला क्यासिनो र १३ वटा आधुनिक मेसिन वा उपकरणका माध्यमबाट मात्र खेलाउने साना (मिनी) क्यासिनोबाट एक अर्ब ३३ करोड ७५ लाख ९२ हजार दुई सय रुपैयाँ राजस्व सङ्कलन भएको हो ।

विभागका प्रवक्ता कालीबहादुर भुजेलले भने, “यस वर्ष क्यासिनो नवीकरणका लागि जेठ मसान्तभित्रै आवेदन माग गरिएकाले नयाँ आव लागेपछि सुरु हुने काम असारमै पूरा भएको छ । नवीकरणका लागि प्रव्रिmयामा नआउने क्यासिनोको इजाजतपत्रसमेत स्वतः खारेज हुने सूचना जारी गरेपछि ३४ करोड २५ रुपैयाँ बेरुजुसमेत सङ्कलन भएको छ ।”

दुई वटा मिनी क्यासिनोको नवीकरण नहुने निर्णय गरिएको र दुई वटा ठुलो क्यासिनोको इजाजत खारेज गरिएको उहनले जानकारी दिए। नवीकरण नहुने निर्णय गरिएका मिनी क्यासिनोमध्ये विराटनगरमा रहेको रत्न सर्भिसेज र सिमरामा रहेको स्माइल कलेक्सन रहेको उनको भनाई छ । त्यस्तै इजाजतपत्र खारेजीमा परेकामा अन्नपूर्ण र साङ्ग्रिला होटलमा सञ्चालनमा रहेका ठुला क्यासिनो रहेका छन् ।

प्रवक्ता भुजेलका अनुसार सरकारले क्यासिनो सञ्चालनका लागि बनाउने ऐन÷नियममा प्रत्येक वर्ष राजस्व तिर्नुपर्ने उल्लेख छ । क्यासिनो सञ्चालक अदालत पुग्ने गरेकाले हाल तीन वटा क्यासिनो अदालतको अन्तरिम आदेशले व्यापार गरिरहेका छन् ।

देशभर सञ्चालनका लागि इजाजत दिएका २८ वटा क्यासिनोमध्ये ह्याप्पी आवर प्रालि, रक इन्टरटेनमेन्ट प्रालि र सेन्ट्रल मिडिया गुप प्रालिले २०७० देखि अदालतको अन्तरिम आदेशमा व्यापार गर्दै आएका छन् ।

क्यासिनो नियमावली, २०७० मा क्यासिनो सञ्चालकले प्रत्येक वर्ष रोयल्टी बुझाउनुपर्ने व्यवस्था गरिएको छ भने आर्थिक ऐन २०७८ को दफा १६ मा छ महिनाभित्र रोयल्टी बुझाउनुपर्ने, समयमा नबुझाएमा थप शुल्क र वार्षिक थप शुल्क बुझाउनुपर्ने प्रावधान रहेको छ ।



प्रतिक्रिया दिनुहोस्